२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

‘डिजिटल नवप्रवर्तन रूपान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

मध्यान्ह
२०८२ जेठ २७ गते २१:२२
‘डिजिटल नवप्रवर्तन रूपान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालगन्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजनामा नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपाल तथा विदेशका ख्यातीप्राप्त विश्वविद्यालयका प्राध्यापक, विषयविज्ञ, नीति निर्माताहरू तथा प्रविधि क्षेत्रमा कार्यरत विज्ञ र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गरेका थिए । उद्घाटन समारोहमा विश्वविद्यालयका डीन डा.निरज केसीले सम्मेलनको उद्देश्यबारे प्रकाश पार्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय नयाँ भएकोले यहाँ अध्ययनरत विद्यार्थीलाई डिजिटल नवप्रवर्तन र रूपान्तरणका अवसर तथा चुनौतीबारे सशक्त जानकारी दिन यो सम्मेलन आयोजना गरिएको बताए ।

डा.केसीका अनुसार सम्मेलनले विद्यार्थीहरूलाई नेपालका विश्वविद्यालय, निजी तथा सरकारी क्षेत्रले प्रविधिको क्षेत्रमा गरेका नवप्रवर्तन तथा भविष्यको सम्भावनाबारे प्रत्यक्ष जानकारी दिने प्लेटफर्मको रूपमा काम गर्नेछ ।

सम्मेलनमा डिजिटल प्रविधिमा भइरहेका नवीनतम अनुसन्धान, कृत्रिम बुद्धिमता, ब्लकचेन,डिजिटल इकोसिस्टमलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । विश्वका विभिन्न विश्वविद्यालयबाट अनलाइन माध्यममार्फत सहभागी विज्ञहरूले प्रत्यक्ष कार्यपत्र प्रस्तुत गरे भने नेपाली विद्यार्थीहरूले सोधपुछ तथा जिज्ञासाहरू राख्ने अवसर पाएका थिए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले सम्मेलनको उद्देश्य क्षमता विकास, ज्ञानको निर्माण र हस्तान्तरण, नीति निर्माणमा सहकार्य, र डिजिटल भविष्यको मार्गचित्र बनाउने रहेको जानकारी दिए । उनले सम्मेलनलाई ज्ञान र प्रविधिको साझा मञ्चको रूपमा व्याख्या गरेका थिए । 

उनका अनुसार यसअघि विश्वविद्यालयले सन् २०२३ र २०२४ मा कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङमा अन्तर्राष्ट्रिय संगोष्ठी आयोजना गरिसकेको छ, र यसपटकको सम्मेलन पनि डिजिटल नवप्रवर्तनका रूपान्तरणकारी सम्भावनालाई उजागर गर्ने ऐतिहासिक कदम हो ।

सम्मेलनको विशेष आकर्षणका रूपमा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य तथा वरिष्ठ साहित्यकार प्रा.डा.कृष्ण प्रसाद घिमीरेले सान्दर्भिक कविता वाचन गरेका थिए । 

सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति, डीन, प्राध्यापक, विषयविज्ञहरूसहित दर्जनौँ विशिष्ट वक्ताहरूको सहभागिता थियो । 

विदेशी सहभागिताका रूपमा सिड्नी विश्वविद्यालय (अष्ट्रेलिया)का डा.आभास जोशी, नेदरल्याण्डको आइटिसी विश्वविद्यालयका अशोक दाहाल लगायतले अनलाइनमार्फत कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, क्यान महासंघका पूर्व उपाध्यक्ष सञ्जय थापा, रानका अध्यक्ष विकास गुरुङले पनि प्रविधि र उद्योगबीचको सहकार्यका विषयमा विचार राखेका थिए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमीरेका अनुसार गुणस्तरीय शिक्षा, उपलब्धिमूलक शिक्षा, रोजगारीको सुनिश्चिततासहितको शिक्षा तथा देश र समाजका लागि उत्तरदायी विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रदान गर्ने लक्ष्य लिएको विश्वविद्यालयले स्थापनाको छोटो समयमै आगामी असार महिनादेखि स्नातकोत्तर तहमा एम टेक इन आइटी र एम तहको अध्यापन सञ्चालन गर्न लागेको छ ।

ADV

सम्बन्धित खबर