रुकुमपूर्व : रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४ देउखोलामा पुल नुहँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सानोभेरी नदीमाथि अस्थायी काठे पुल निर्माण गरिएको छ ।
गत वर्षको बर्खामा आएको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध बनेपछि अस्थायी रूपमा निर्माण गरिएको काठे पुल अहिले पुनःजोखिमको चपेटामा परेको छ । बर्खायामको सुरुवातसँगै नदीमा पानीको बहाव तीव्र बन्दै गएपछि पुल पार गर्दा ज्यान जोखिममा पर्ने अवस्था आएको छ ।
सिस्ने गाउँपालिका–२ का स्थानीय सुरेश रामजालीका अनुसार नदीको बहाव तीव्र हुँदा पुल पार गर्न साह्रै कठिन हुन्छ । उनले भने, ‘बच्चा, वृद्ध र महिलाका लागि त झनै गाह्रो छ । कुनै उपाय छैन, डराउँदैपनि यतैबाट जानुपर्छ ।’
स्थानीय धनबहादुर कामीले विगतदेखि नै स्थायी पुलको माग गर्दै आएको तर राज्यका निकायहरू मौन बसिरहेको गुनासो गरे । ‘संघीयता आएको दशक भइसक्यो, तर हाम्रो गाउँमा सडक र पुल जस्तासम्म पनि सुविधा छैन । नेताहरू चुनावमा मात्रै देखिन्छन्’ उनले आक्रोश पोखे ।
यसबीच, सिस्ने गाउँपालिका–२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले गत वर्षको बर्खामा सडक भत्किएपछि गाउँपालिकाले श्रमदानमार्फत अस्थायी पुल बनाएको बताए । अहिलेको अवस्था अत्यन्त जोखिमपूर्ण भएको स्वीकार गर्दै उनले भने, ‘स्थायी समाधानका लागि वैकल्पिक मार्ग र पक्की पुल निर्माणको योजना अघि बढिसकेको छ ।’
वडाका प्रशासन सहायक खडक केसीका अनुसार, देउखोला–नायागाडा सडक विस्तारको तयारी पनि भइरहेको छ । सानोभेरी नदीमा पक्की पुल निर्माणका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइसकेको छ भने आगामी आर्थिक वर्षभित्र काम सुरू गर्ने योजना रहेको छ ।
वर्षायाममा दिनप्रतिदिन जोखिम बढिरहेका बेला देउखोला क्षेत्रका बासिन्दाले सरकारले चाँडो स्थायी समाधान ल्याओस् भन्ने अपेक्षा गरेका छन् ।