रौतहट : रौतहटको गरुडा नगरपालिका-६, पोठियाहीमा बहुप्रतीक्षित नाला निर्माणको शिलान्यास गरिएको छ । नगरपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण हुन लागेको १३१ मिटर लम्बाइको सो नाला नगरस्तरीय बजेटमार्फत निर्माण हुने भएको हो ।
गरुडाका नगरप्रमुख कन्थमणि प्रसाद जयसवालले नाला निर्माण कार्यको शिलान्यास गरेका हुन् । कुल लागत ६ लाख ७५ हजार रुपैयाँ रहेको उक्त आयोजनाले ढल निकास, सरसफाइ तथा वातावरणीय सुधारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख जयसवालले स्थानीयको दीर्घकालीन मागअनुसार यो आयोजना अघि बढाइएको बताए । “जनस्वास्थ्यको सुरक्षासँगै नगरको दिगो विकासका लागि पूर्वाधार निर्माण हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने ।
मेयर जयसवालले गरुडालाई समुन्नत, व्यवस्थित र नागरिकमैत्री नगरका रूपमा विकास गर्न यस्ता आयोजनालाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा सहभागी स्थानीयवासीहरूले नगरपालिका तथा जनप्रतिनिधिप्रति आभार प्रकट गर्दै वर्षौंदेखिको पानी जम्ने र ढल व्यवस्थापनको समस्या समाधान हुने विश्वास व्यक्त गरे । नाला निर्माणले नगरको समग्र स्वरूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।