काठमाडौं : भारतको हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा एक जना नेपाली युवक पक्राउ परेका छन् । हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
विजयले ताराको हत्या गरी ट्राभल ब्यागमा शव हालेर फालेको भेटिएपछि जुन ४ मा घटनाको खुलासा भएको हो । विजयसँग फेसबुकमार्फत चिनजान भएपछि तारा अप्रिल १५ मा हैदराबाद गएर उनीसँग बोवरमपेटस्थित एउटा कोठामा बस्दै आएको प्रहरीले जनाएको छ । विजय हैदराबादको एउटा रेस्टुरेन्टमा शेफका रूपमा कार्यरत थिए । तारा विवाहित र दुई छोराछोरीकी आमा थिइन् ।
प्रहरीका अनुसार मे २३ मा उनीहरूबीच तारा गर्भवती भएको विषयमा भनाभन भएको थियो । विवादको क्रममा विजयले नाइलनको डोरो प्रयोग गरी उनको घाँटी कसेर हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । त्यसपछि शवलाई ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालेको प्रहरीको भनाइ छ ।
घटनापछि साइबराबादका के. सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीलगायत फरेन्सिक विज्ञहरू घटनास्थल पुगेका थिए । अनुसन्धानका लागि ५ वटा विशेष टोली गठन गरिएको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेज र प्रविधिको सहायताले विजयलाई मेडक जिल्लामा फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउपछि सोधपुछमा विजयले अपराध स्वीकार गरेका छन् । उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।