२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित

Nada
२०८२ जेठ २५ गते ११:५४
Shares
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित

कञ्चनपुर : बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली-पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका-७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिए ।

दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग रु. २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ । 

“पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ”, सूचना अधिकारी जोशीले भने, “बजेट अभावले काम प्रभावित भएको छ, हामीले रु. १० करोड बजेट माग गरेका छौँ ।” 

त्यसैगरी मुसेपानी खोला पुलमा बजेट नहुँदा पहुँचमार्ग निर्माण हुन सकेको छैन । पुल निर्माणको ९२ प्रतिशत काम सम्पन्न भए पनि बजेट अभावले पहुँचमार्ग निर्माण हुन नसकेको सूचना अधिकारी जोशीले बताए । उनका अनुसार २०७४ साल जेठ १० गते रु. १५ करोड ४३ लाखमा राजेन्द्र लुम्बिनी जेभीसँग २०७७ जेठ १० मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । 

समयमा पुल निर्माण हुन नसक्दा पाँचपटक म्याद थप भएर २०८१ पुसभित्र सम्पन्न गरिसक्नुपर्ने समयावधि भए पनि बजेट अभावले निर्माण सम्पन्न हुन नसकेको हो । पुलको बाँकि काम सम्पन्न गर्नका लागि रु. चार करोड बजेट माग गरिएको सूचना अधिकारी जोशीले बताए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर