काठमाडौंः पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा बैंकरहरु पनि अख्तियारको फन्दामा परेका छन् । करिब एक दर्जन बैंकर पतञ्जली जग्गा प्रकरणमा मुछिएका हुन् । पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनीलाई कर्जा दिने सनराइज बैंक (हाल लक्ष्मी सनराइन)का तत्कालिन कर्मचारीहरु समेत संग्लन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा देखिएको छ । आयोगले कर्मचारीहरुले पनि भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा दायर गरेकाे हाे । जसमा नेपालका भाञ्जा मनोज न्यौपानेसहित १२ जना बैंकर परेका हुन् । अख्तियारले दायर गरेको मुद्दामा तत्कालिन सनराइज बैंकका कार्यकारी अधिकृत किशोर कुमार महर्जनदेखि जुनियर म्यानेजमेन्ट ट्रेनीसम्म मुछिएका छन् ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ को मतियार भइ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर लागेको हो ।
तत्कालिन सनराइज बैंकले आजभन्दा १७ वर्षअघि पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई जग्गा धितो राखेर १० करोड रुपैयाँ ओभरड्राफ्ट कर्जा दिएको थियो । बैंकले बदनियतले हदबन्दीभन्दा बढी जग्गा धितो राखेर कर्जा दिएको अख्तियारको ठहर छ ।
पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंह र सनराइज बैंकका कर्मचारीसँगै सरकारी सार्वजनिक पदधारण गरेकासमेत व्यक्तिले आपसी मिलोमतो तथा योजनामा आफूसमेतलाई लाभ हुने काम गरेको अख्तियारले ठहर गरेकाे हाे ।
बैंकको नाममा धितो लिखत पारित गर्ने/गराउने गरी गलत लिखत तयार गरे/गराएको तथ्य वारदात स्थापित भएको हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्नलाई सजाय हुने मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
पतञ्जली योगपीठ जग्गा प्रकारणमा मुछिएका तत्कालिन सनराइज बैंकका कर्मचारीहरुः
१. तत्कालिन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत– किशोर कुमार महर्जन
२.नायब महाप्रबन्धक– बलराम विष्ट
३.जोखिम व्यवस्थापन विभागका प्रमुख– सञ्जय कुमार सिद्धी
४.प्रमुख व्यवस्थापक– रविन कुमार नेपाल,
५.उप–प्रबन्धक– मनोज न्यौपाने,
६.सहायक महाप्रबन्धक– आशा राणा अधिकारी,
७.सहायक महाप्रबन्धक नीता प्रधान
८.जोखिम विभागका अधिकृत– सुजित पोखरेल
९.अनुपालन विभागमा कार्यरत– सुनिल रत्न स्थापित
१०.वरिष्ठ सहायक– विक्रान्त कोइराला
११.शाखा प्रबन्धक– राजीव सापकोटा
१२.अधिकृत– ममता पराजुली
१३.जुनियर म्यानेजमेन्ट ट्रेनी– एशु मैनाली,
के छ बैंकमाथि अख्तियारको आरोप ?
१. पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल, उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह, बैंकका कर्मचारी र सरकारी सार्वजनिक पदधारण गरेकासमेत व्यक्तिले आपसी मिलोमतो तथा योजनामा आफूसमेतलाई लाभ र नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पुर्याउने बदनियतले हदभन्दा बढी जग्गा सनराइज बैंक लिमिटेडको नाममा धितो लिखत पारित गर्ने/गराउने गरी गलत लिखत तयार गरे गराएको तथ्य वारदात स्थापित भएको हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न देहाय बमोजिमका प्रतिवादीलाई देहाय बमोजिमको सजाय हुन अभियोग माग दाबी लिई आरोपपत्र दायर गरिएको छ।
सरकारी सार्वजनिक कायम हुने प्रकृतीको हदभन्दा बढी जग्गासमेतको धितो लिखत पारित गरी गराई बदनियत राखी तत्कालिन सनराइज बैंक लिमिटेड (हाल लक्ष्मी सनराइज बैंक)बाट ऋण प्रवाह गरे गराएको सम्बन्धमा
मालपोत कार्यालय, काभ्रेपलाञ्चोकको र.नं. १०३७७, मिति २०६५/११/१५ को लिखतबाट पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनी नेपालका नाममा सनराइज बैंक लिमिटेडबाट स्वीकृत ओभरड्राफ्ट २,००,००,०००।– (अक्षरेपी दुई करोड रुपैयाँ मात्र)को कर्जा सुविधाको सुरक्षणवापत उक्त कम्पनीको नाममा रहेको साविक चलाल गणेशस्थान गा.वि.स.को २०६–४–२–३ रोपनी जग्गा सनराइज बैंक लिमिटेडको नाममा धितो लिखत पारित गरे गराएको छ।
२.मालपोत कार्यालय, काभ्रेपलाञ्चोकको र.नं. १०४५७, मिति २०६५.११.१६ को लिखतबाट पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनी नेपालका नाममा सनराइज बैंक लिमिटेडबाट स्वीकृत ओभरड्राफ्ट ८,००,००,०००।– (अक्षरेपी आठ करोड रुपैयाँ मात्र)को कर्जा सुविधाको सुरक्षणवापत जग्गावाला गुठी संस्थान हिटिचोक सदावर्त गुठीको नाममा दर्ता भई पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा मोही कायम भएको साविक साँगा र महेन्द्रज्योति गाविसको २५२–३–१–०.२५ रोपनी र पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको नाममा रहेको साविक साँगा र महेन्द्रज्योति गाविसको ६२–१२–२–०.२५ रोपनी जग्गा सनराइज बैंक लिमिटेडको नाममा धितो लिखत पारित गरे गराएको।
३.पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको नाममा रहेको हदभन्दा बढी जग्गा सुरक्षण वापत धितोमा राख्ने गरी तत्कालिन सनराइज बैंकबाट मिति २०६४/११/8१५ गते निर्णय गरे गराएको।