कालिकोट : कालिकोको सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । ‘नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने नाराका साथ जिल्लाका सरोकारवाला, अभिभावक, बालबालिका र किशोरकिशोरीको सहभागितामा बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।
सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणमा बाल विवाहले प्रतिकूल असर परेकाले सान्नीत्रिवेणी गाउँपालिकालाई २ वर्षभित्र बालविवाहमुक्त पालिका घोषणा गर्न अभियान सुरू गरेको बताए ।
बालअभियान्ता तथा अधिवक्ता खडानन्द चौलागाईले गाउँमा कसैले पनि बालविवाह नगर्ने नगराउने प्रतिबद्धतासहित बाल विवाह निषेधित वडा घोषणा गरिएको बताए । उनले भने, ‘बालविवाह कानुनी र सामाजिक अपराध हो,’देवीदेवतालाई साक्षी राखेर सबैले प्रतिबद्धता गरेका छौं । अब जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको ८ नम्बर वडामा कसैले पनि २० वर्ष नपुगी विवाह गर्ने छैनन् ।’
सामाजिक अभियन्ता बलिराजा शाहीले ४ वर्षअघिसम्म ६८ प्रतिशत बाल विवाह रहेको मुम्रामा प्लानसहितका संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि २०८१ को चैतमा १० प्रतिशतभन्दा कम पाइएपछि वडालाई बालविवाह निषेधित घोषणा गरिएको बताए । हालसम्म सान्नीत्रिवेणीको ७ र ८ नम्बर वडा बालविवाह निषेधित वडा घोषणा भइसकेका छन् । अब ७ वडा बाँकी छ ।
सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सञ्ज्यालले बालविवाह निषेधित वडा घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षाका लागि लगानी गर्ने बताइन् । सान्नी त्रिवेणी–१ का वडाध्यक्ष वैकुण्ठ गिरी, वडा नम्बर ३ का अध्यक्ष रङ्गलाल देवकोटा, वडा नम्बर ८ का अध्यक्ष नौलासिंह बुढालगायतका सरोकारवालाहरूले बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गर्ने प्रतिवद्धता गरे ।