काठमाडौँ : संघीय संसदका दुवै सदनको बैठक बिहीबार बस्ने भएको छ ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने कार्यसूची छ । बजेटमाथिको सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभामा भने आर्थिक वर्ष २०८२/८३को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची छ ।