२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

विपद्का घटना रोक्न सबै संयन्त्र परिचालन गरिन्छ : मुख्यमन्त्री आचार्य

सुर्य प्रसाद भुसाल
२०८२ जेठ २१ गते १७:५८
विपद्का घटना रोक्न सबै संयन्त्र परिचालन गरिन्छ : मुख्यमन्त्री आचार्य

भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सबै निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा आयोजित प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा बोल्दै मुख्यमन्त्री आचार्यले अन्य प्रदेशको तुलनामा लुम्बिनी सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता आवश्यक रहेको बताए ।

“मनसुनजन्य विपद्बाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ,” उनले भने, “त्यसैले क्षति न्यूनीकरणमा केन्द्रित भएर उच्च सतर्कताका साथ खटिनु आवश्यक छ । समुदायको परिचालनमार्फत मात्र विपद्‌बाट हुने क्षति न्यूनीकरण सम्भव हुन्छ। त्यसका लागि स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवक युवाबीच प्रभावकारी समन्वय हुनुपर्छ ।”

मुख्यमन्त्री आचार्यले विपद्‌ पूर्वको अवस्थामा प्रभावकारी सूचना प्रवाह, सुरक्षित स्थानको व्यवस्था, नागरिक शिक्षा तथा सचेतनामूलक अभियान सञ्चालन, खोज तथा उद्धार कार्य सशक्त बनाउनुका साथै जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गर्नुपर्नेमा जोड दिए । साथै, उनले विपद्पछि राहत, पुनःस्थापना, खाद्यान्न आपूर्ति, शुद्ध खानेपानी र स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने निर्देशनसमेत दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । कार्ययोजनाका अनुसार प्रदेशका करिब १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ नागरिक प्रभावित हुनसक्ने आंकलन गरिएको छ । सोहीअनुसार प्रदेश सरकारले तयारी र सतर्कता अभियान अघि बढाएको छ ।

बैठकले मनसुनजन्य विपद्बाट प्रदेशलाई सुरक्षित राख्न सबै पक्ष संवेदनशील, जिम्मेवार र सक्रिय रहनुपर्ने निष्कर्ष निकालेको छ ।

१० वर्षमा ८ हजारभन्दा बढी परिवार प्रभावित

लुम्बिनी प्रदेशमा पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्का १ हजार ६१८ वटा घटना भएका छन् । ती घटनामा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते, ३२ जना बेपत्ता हुनुका साथै ८ हजार ३१५ परिवार प्रभावित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद्‌ फोकल पर्सन गंगाधर पाण्डेले जानकारी दिए ।

२०८१ मा मात्रै २९२ विपद्का घटना भएका थिए । मानवीय क्षतिको दृष्टिले सबैभन्दा बढी २०७३ सालमा १०७ जनाको ज्यान गएको थियो ।

गत वर्ष बाढी, पहिरो र भारी वर्षाका कारण लुम्बिनी प्रदेशमा ५३ जनाको मृत्यु, ७० जना घाइते, ९ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए । करिब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरिएको छ ।

बैठकमा जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका वरिष्ठ मौसमविद् वरुण पौडेलले लुम्बिनी प्रदेशका पहाडी जिल्लामा यस वर्ष अधिक वर्षाको सम्भावना रहेको जनाउँदै त्यसअनुसार प्रभावकारी विपद्‌ प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु, वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार, प्रदेशसभा सदस्य तथा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढा, नेपाली सेनाको नम्बर १९ बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति पदमबहादुर बुढा, सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनीका डिआईजी दीपेन्द्र कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी जनार्दन जिसी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनीलगायतको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर