२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

मृत्यु–चिन्तन गर्दागर्दै अस्ताए रसिक

निमिष झा
२०८२ जेठ १९ गते ०६:२०
मृत्यु–चिन्तन गर्दागर्दै अस्ताए रसिक

काठमाडौं : वरिष्ठ सर्जक, गीतकार, गायक र साहित्यकार गणेश रसिकको ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका रसिकको निधन भएको हो ।

भोजपुर छिनामाखुमा ४ असोज २००४ मा जन्मिएका रसिक ५० को दशकमा इलाम सरेका थिए । करिब ५ दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाएका छन् ।

उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरू, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू  टेक्दै हिँडेलगायतका कथा, कविता, निवन्ध, नियात्रा र संस्मरणसहित दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

होनहार प्रतिभा

उनी नेपाली गीत संगीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरूङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा समेत हुन् ।

‘हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ’, ‘तराई हेर कति राम्रो हरियो वन हुनाले’, ‘मेरो टाउको सानो छ, यो  टाउको विशाल देश छ’, ‘रातो भाले क्वाँए क्वाँए’जस्ता राष्ट्रिय र लोकगीत उनले गाएका छन् । उन केही रचना विद्यालयका पाठ्पुस्तकमा पनि समावेश छ ।

साहित्यका विभिन्न विधामा कलम चलाएका रसिकका दर्जन हाराहारी पुस्तक तथा थुप्रै गीत संग्रह प्रकाशित छन् ।रसिकका क्षितिजलाई ‘छुन खोज्दा’ (कथासंग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीतसंग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथासङ्ग्रह० २०५८), ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीतसङ्ग्रह २०६८) , ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत प्रकाशित छन् ।

रसिकले आफ्ना कालजयी गीतहरूमार्फत जीवनका उच्चतम मूल्य, भावना र पीडालाई पोखेका छन् । उनका कृतिहरूमा माटोको सुगन्ध र देश प्रेम पाइन्छ । कृतिमा रसिकले जीवन, मृत्यु, दुःख, पीडा, सामाजिक परिवेश, संस्कृति, माटो र देशप्रेमलगायत पाटोलाई समेटेका छन् ।

उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव जस्ता प्राज्ञिक संस्थानहरूको उच्च पदमा रहेर समेत जिम्मेवारी सम्हालेका थिए ।

मृत्युसँग साक्षात्कार

क्यान्सरकै कारण सानै उमेरमा आमा गुमाउनु, आँखैअघि तीन जना भाइको दर्दनाक मृत्यु देख्नु, ३२ वर्षीय छोराले लिएको अन्तिम स्वासको साक्षी बस्नु, ४७ वर्षदेखि सँगै रहेकी जीवनसंगिनी गुमाउनु ! अनि यी सारा मानिससँग जोडिएका सम्झनाहरूको भुईंकुहिरोभित्र हराइरहनु । स्मृतिका गल्लीहरूमा सधैंसधैं बरालिएर बिरामी जिन्दगीलाई मायाले सुमसुम्याइरहनु ! ७८ वर्षसम्म रसिकले बाँचेको जीवनका उबडखाबड श्रृंखला यस्तै थियो ।

जीवनको आफ्नो मृत्यु निश्चित जस्तै देखेका रसिक शुभचिन्तकसँग पनि मृत्युका गफ गर्थे । अनि मृत्यु–चिन्तन गर्थे । तर पनि धमिराले खाएको रुख जस्तो भित्रभित्रै खोक्रो भइसके पनि मुस्कुराउँदै गफ गर्थे ।

ADV

ताजा खबर

सम्बन्धित खबर