२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

गायक तथा संगीतकार गणेश रसिकको निधन

मध्यान्ह
२०८२ जेठ १८ गते १४:०९
गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौं : वरिष्ठ संगीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ । क्यान्सर रोगका कारण उपचाररत रसिकको आइतबार बिहान ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । उनी ७७ वर्षका थिए ।

परिवारका सदस्य र संगीतकर्मीहरूका अनुसार रसिक पछिल्लो पाँच वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए र नियमित किमोथेरापी गराउँदै आएका थिए ।

रसिकको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । लन्डनमा रहेकी उनकी छोरी नेपाल फर्किएपछि अन्त्येष्टि गरिने बताइएको छ ।

२००४ साल असोज ४ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुस्थित नौलागाउँमा जन्मिएका रसिक बहुआयमिक सिर्जनाका धनी थिए । उनले कथा, कविता, उपन्यास, संस्मरण, गीत र संगीतमार्फत नेपाली साहित्य र संगीत क्षेत्रमा लामो समय योगदान दिएका थिए ।

‘ओ याङ्जी नाना’, ‘घरबेटी नानी’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ लगायत उनका गीत चर्चित छन्। कथा संग्रह ‘क्षितिजलाई छुन खोज्दा’, उपन्यास ‘आकाशगंगाको ओतमुनि’ र संस्मरण संग्रह ‘पेरुङ्गो’ लगायत उनका कृतिहरू प्रकाशित छन् ।

गायन क्षेत्रमा उनले झण्डै पाँच दशकअघि ‘लेकाली’ समूहबाट यात्रा सुरु गरेका थिए । गीत लेखन र गायनमा सामाजिक यथार्थ, संघर्ष र जनजीवनका विषय प्रस्तुत गर्ने रसिक नेपाली संगीतको दोस्रो पुस्ताका महत्वपूर्ण व्यक्तित्व मानिन्छन् ।

उनी रत्न रेकर्डिङ संस्थान, सांस्कृतिक संस्थान, साझा प्रकाशन, र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरूमा नेतृत्व तहमा रही काम गरेका थिए ।

ADV

सम्बन्धित खबर