विराटनगर : रोजगारीका अवसर सिर्जना र सीपयुक्त जनशक्तिको अभिवृद्धि गर्ने उद्देश्यसहित जेठ १० र ११ गते विराटनगरमा ‘सीप उत्सव २०८२’ हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा, इन्स्योर हेल्भेटासको प्राविधिक सहयोग तथा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा हुन लागेको दुई दिने सिप उत्सव हुन लागेको हो । उत्सवमा १ हजारभन्दा बढी विद्यार्थी र युवाको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्यक्रमको मुख्य उद्देश्य रोजगारी र सीप विकासलाई जोड्नु रहेको बताए । उत्सवले व्यवसायिक तथा प्राविधिक शिक्षालाई सम्मानजनक बनाउने र सीपको मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको छ उनको भनाई छ ।
‘सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न, निजी क्षेत्रका लागि आवश्यक सीपयुक्त श्रमिक उत्पादन गर्न र युवा पुस्तालाई आत्मनिर्भर बनाउने दिशामा यो उत्सवले महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिएको छ,’ अध्यक्ष सुरानाले भने ।
सीप उत्सवमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट, इलेक्ट्रिकल इन्जिनियरिङ, अटोमोबाइल लगायतका क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि लाइभ ट्रेनिङ, काउन्सिलिङ सत्र, प्रतिस्पर्धात्मक सीप प्रदर्शन, परामर्श, र पुरस्कार वितरण जस्ता गतिविधिहरू हुनेछन् ।
सुनसरी र मोरङका ११ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालित शिक्षालयहरूबाट ७ वटा शिक्षालयका १८ जना विद्यार्थीहरू प्रारम्भिक छनोटमा परेका छन्। उनीहरूमध्ये उत्कृष्ट ५ जनाले ‘स्किल आइकन’ को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजकले यसरी सीप प्रदर्शनका माध्यमबाट युवामा सीपको महत्वबारे चेतना फैलने र उनीहरूलाई आत्मनिर्भर जीवनयापनका लागि उत्प्रेरणा मिल्ने विश्वास लिएको छ ।
सीप उत्सवले नेपालमा बढ्दो बेरोजगारीको समस्यालाई सम्बोधन गर्दै स्वदेशमै दक्ष जनशक्ति तयार पार्न योगदान दिने अपेक्षा गरिएको छ । विशेषतः युवालाई अवसरसँग जोड्ने, अनौपचारिक सीपलाई मूल्यांकन गर्ने, र निजी क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने वातावरण निर्माण गर्न कार्यक्रमले भूमिका खेल्नेछ । यस्तै उत्सवले दीगो रोजगारी, समावेशी आर्थिक विकास र विद्यालय–उद्योग सहकार्यको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।