बझाङ : संघीय सांसद तथा पूर्वमन्त्री भानुभक्त जोशीले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन् । बझाङको सदरमुकाम चैनपुरमा एकीकृत समाजवादीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले झण्डै दुई तिहाईको बलियो समर्थन प्राप्त सरकार भए पनि नतिजामुखी काम नहुनु दुःखद रहेको बताए ।
‘गभर्नर नियुक्तिमा आफ्ना आफन्तहरु राख्न अत्यधिक समय लाग्यो, विश्वविद्यालय तथा संवैधानिक निकायहरूमा पनि अझै प्रभावकारी रूपमा नियुक्ति हुन सकेको छैन’ उनले भने, ‘जनतामा सरकारप्रति गहिरो निराशा छ ।’ सांसद जोशीले अहिलेको सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको बनाए । उनले भने, ‘सरकार आफन्त र नातावादी सोचमा अगाडि बढेको छ, दक्षता र उत्पादनका विषयमा ध्यान दिएको देखिँदैन ।’
उनले रोजगारी सिर्जना, उत्पादन वृद्धिलगायत आर्थिक क्षेत्रमा समेत सरकार असफल देखिएको बताए । सरकारले राम्रो काम गरिरहेको दाबी गरिए पनि जनताले त्यो महसुस गर्न नगरेको जोशीको भनाइ छ ।
सांसद जोशी जेठ ११ र १२ गते झोतामा हुने नेकपा एकीकृत समाजवादीको जिल्ला अधिवेशनमा सहभागी हुन बझाङ आएका हुन् । अधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी सुदृढीकरण र संगठन विस्तारमा पनि पार्टी गम्भीर रहेको बताए ।