२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

गौशालामा ८ सवारी एकआपसमा ठोक्किएर दुर्घटना

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते १४:२३
गौशालामा ८ सवारी एकआपसमा ठोक्किएर दुर्घटना

काठमाडौं : काठमाडौं महानगरपालिका–८ स्थित गौशालामा मंगलबार दिउँसो ८ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

गौशालाबाट तिलगंगातर्फ गइरहेको बाबा गोकर्णेश्वर यातायातअन्तर्गतको बा ५ ख ६७३५ नम्बरको सार्वजनिक बस अचानक अनियन्त्रित भई अगाडि रहेका सवारीहरूमा ठोक्किएपछि श्रृंखलाबद्ध दुर्घटना भएको हो । बसले ठक्कर दिँदा हायस, तीन वटा कार, दुईवटा मोटरसाइकल र एक स्कुटर समेत आपसमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार दुर्घटना मंगलबार करिब १२ बजेतिर भएको हो । घाइते भएका तीन जनालाई तत्काल उद्धार गरी उपचारका लागि केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ स्थायी घर भई हाल टोखामा बसोबास गर्दै आएका ३२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठ बा ५१ प २२ नम्बरको मोटरसाइकल चलाइरहेका बेला दुर्घटनामा परेका थिए । त्यही मोटरसाइकलको पछाडि सवार नुवाकोट टाडी गाउँपालिका–२ का २२ वर्षीय विकाश कट्टेल पनि घाइते भएका छन् ।

त्यस्तै, दुर्घटनामा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ स्थायी घर भई काठमाडौं कोटेश्वरमा बसोबास गर्दै आएका ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन् । उनी प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा संलग्न बसको चालक घटनापछि फरार भएका छन् । हाल उनीको खोजी भइरहेको छ ।

दुर्घटनामा संलग्न सवारीहरूमध्ये, हायस बा ५ ख ७३१ नम्बरको थियो, जसका चालक ३४ वर्षीय रक्तिम लामा काभ्रेका बासिन्दा हुन् । दुर्घटनामा संलग्न कारमध्ये बा.प्र–०१–०२६ च ८५७६ नम्बरको कार चलाउने २७ वर्षीय राम तामाङ सिन्धुपाल्चोक निवासी हुन् । अर्को कार, बीएसी ९७७३ नम्बरको रहेको छ, ५३ वर्षीय त्रिरत्न प्रजापतीले उक्त कार चलाएका थिए ।

त्यस्तै, बा १६ च ४४५२ नम्बरको कार काठमाडौं टोखा निवासी ४१ वर्षीय प्रेम प्रसाद गेलालले चलाएका थिए । स्कुटर दुर्घटनामा पनि परेको थियो, जुन बा.प्र–०२–०४६ प ४८१९ नम्बरको थियो । सो स्कुटर भक्तपुर निवासी १९ वर्षीया स्मिता ढुंगेलले चलाइरहेकी थिइन् ।

सवारी साधनहरू आपसमा एकपछि अर्को ठोक्किँदा सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो । प्रहरीले सवारी हटाएर सडक सुचारु बनाएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise