काठमाडौं : खाली रहेका नेपाल प्रहरीका ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजनीतिक दबाब र प्रभावमा सिफारिस गरिएको छ । नेपाल प्रहरीमा रिक्त रहेको १ जना प्रहरी अतिरिक्त महानिरीक्षक र ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका हुन् ।
डीआईजी सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस हुँदा ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । गृह मन्त्रालय र प्रहरी हेडक्वार्टरले १ महिनाभन्दा बढी समय अड्काएर राखेको डीआईजी बढुवाको सिफारिसमा वरिष्ठलाई पछि पार्दै कनिष्ठलाई ल्याइएको भन्दै प्रहरी संगठनभित्र असन्तुष्टि बढेको छ ।
बढुवा सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र जीसी, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपककुमार बस्नेत छन् । त्यस्तै, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ छन् ।
प्रहरी संगठनमा राजनीतिक प्रभाव बढिरहेको टिप्पणी भइरहँदा डीआईजी बढुवामा त्यसको प्रभाव देखिएको छ । डीआईजी बढुवाका प्रमुख दाबेदार रहेका एसएसपीहरू राजनीतिक नेतृत्वसँगको भेटलाई तीव्र बनाएका थिए ।
अनुसन्धान विभागबाट आएका ४ एसएसपीहरू वरीयताको शीर्ष स्थानमा थिए । उक्त टोलीका ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ र विमल बस्नेत थिए ।
तर, समितिले हिमाल श्रेष्ठ र विमल बस्नेतलाई पछि पारेका छन् । त्यसपछिका मुख्य दाबेदार रहेका एसएसपीहरू विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, अविनारायण काफ्ले, ओमप्रसाद अधिकारी, शेखर खनाल र सोमेन्द्रसिंह राठौरलाई समेत पछि पारिएको छ ।
वरीयता र कार्यक्षमताका आधारमा डीआईजी बढुवा हुने अधिकृतहरूले अपेक्षा गरे पनि बढुवामा राजनीतिक प्रभाव देखिएको छ । महानिरीक्षक दीपक थापाले मापदण्ड निर्देशिकालाई नै बढुवामा प्राथमिकता दिने अपेक्षा गरेका अधिकृतहरूले प्रहरीमा राजनीतिक हस्तक्षेपलाई रोक्न नसकेको टिप्पणी गरेका छन् ।
अहिले सिफारिस भएका ओमबहादुर राना र सुरेन्द्रबहादुर गुरुङबाहेक सबै कनिष्ठबाट अघि ल्याइएको भन्दै प्रहरीमा खैलाबैला भएको छ । रिक्त पदभन्दा तेब्बर आकांक्षी हुँदा पेचिलो बनेको बढुवा प्रक्रिया ११२ नम्बर टोलीलाई पछि पार्दै ११४ नम्बर टोलीबाट डीआईजीमा फड्को मारेको प्रहरी अधिकृतहरूको भनाइ छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएको १ महिनासम्म १० डीआईजीको दरबन्दी खाली थियो । मंगलबार नै बढुवा सिफारिस गरिएका सिद्धिविक्रमको ठाउँमा खाली हुँदा ११ डीआईजीको पद खाली भएको थियो ।
वैशाख पहिलो साता ६ डीआईजीलाई एआईजीमा बढुवा गरिएको थियो भने त्यसअघि नै ४ जना डीआईजी अनिवार्य अवकासमा गएका थिए । सोही ठाउँमा खाली रहेका डीआईजी बढुवा सिफारिस भएका हुन् ।
गत वैशाखमा एआईजीमा बढुवा भएका लालमणि आचार्य यही १० जेठमा अनिवार्य अवकाशमा जाने छन् । उक्त ठाउँमा सिद्धिविक्रमलाई ल्याइएको हो । डीआईजी सिफारिस भएका एसएसपीहरूको नियुक्ति प्रक्रियागत रूपमा अघि बढ्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा सिफारिस गरेको हो ।
बढुवा ढिला गर्दा डीआईजीको कमान्डमा रहने प्रहरीका कार्यालयहरूमा १ महिना बढी समयदेखि एसएसपीले नै जिम्मेवारी सम्हाल्दै आएका छन् । यसले मुलुकको शान्ति सुरक्षामा असर पर्ने सुरक्षा विज्ञहरू बताउँछन् ।
केही अप्ठ्यारो अवस्था आइहाले डीआईजीले गर्नुपर्ने काम एसएसपीले सम्हाल्नुपर्दा समस्याहरू हुन सक्ने नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले बताए । प्रहरी संगठनमा सधैं हुने राजनीतिक हस्तक्षेपले निरन्तरता पाएको सुरक्षा विज्ञहरूले बताएका छन् ।