नेपालगन्ज : गोपाल नीना फाउण्डेशनले बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित भएका छन् । ठाकुरबाबा नगरपालिका वडा नं. ८ चिट्कैयामा सम्पन्न उक्त शिविरमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् ।
फाउण्डेशनका सहनिर्देशक डा.तृप्तीपाल रमणका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरबाट २२५ जना महिला र ६९ जना पुरुषको विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण, आवश्यक परामर्शसहित निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी, छाला सम्बन्धी, पाठेघर, स्त्री रोग, पेट सम्बन्धी रोग लगायत विभिन्न प्रकारका रोगका औषधीसहित स्वास्थ्य सेवा लिएका फाउण्डेसनका कार्यक्रम संयोजक दीलिप गिरिले बताए ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा.गौरव श्रेष्ठ, डा.तृप्तीपाल रमण, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभ श्रीवास्तव, डा. कमल नारायण रस्तोगी, डा. चन्दन सिंह, डा. सचिन शाह लगायत आठ जना चिकित्सकहरुद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
गोपाल–नीना फाउण्डेसनको मुख्य आयोजनामा सम्पन्न सो शिविरमा फाउण्डेशनको मेडिकल टिम, बर्दिया ठाकुर बाबा नगरपालिका, ठाकुरबाबा स्वास्थ कार्यालय, ठाकुरबाबा नगरपालिका वडा नं.८, अन्नपूर्ण ग्याष्ट्रो हस्पिटल, सञ्जीवनी मेडिकल कलेज अफ मेडिकल साइन्सका निर्देशक डा. रोमन किदवाई, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफेको सहकार्यमा सम्पन्न भएको हो ।
शिविरको लागि नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जले औषधि आपूर्ति तथा आवश्यक औषधि सहयोग गरेको थियो भने अन्नपूर्ण ग्यास्ट्रो केयर हस्पिटल, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफे, एनएमएसआरए लगायतले सहकार्य गरेको थियो ।
यस शिविरमा फाउण्डेशनका कर्मचारीहरु अनुप आर्य, सुश्री प्रतिभा पौडेल, दक्षिणा क्षेत्री, फार्मेसी तर्फ अन्नपूर्ण ग्यास्ट्रो केयर हस्पिटलका सरोज चौधरी, पुष्पा कुमारी थारु, युवराज सिंह, नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जका डि.आर. पाण्डे, उमेश राज जोशी, कमलेश कर्ण, वैद्यनाथ लाल दास लगायतले सक्रिय सहयोग गरेका थिए ।