२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

एनआरएनए मलेसियाले नवौं अधिवेशन तथा तिज कार्यक्रम आयोजना गर्ने

Nada
तिलोचन गौतम
२०८२ भदौ ९ गते ११:५६
Shares
एनआरएनए मलेसियाले नवौं अधिवेशन तथा तिज कार्यक्रम आयोजना गर्ने

क्वालालम्पुर : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले आगामी भदौ १४ गते (अगस्ट ३१) नवौं अधिवेशन र तिज विशेष कार्यक्रम गर्ने भएको छ । तर हाल मलेसियामा दुई कित्तामा विभाजन भएको गैरआवासीय नेपाली संघ मलेसियाले छुट्टाछुट्टै आ-आफ्नै पक्षधर र समर्थक समाहित गर्दै अधिवेशन गर्ने भएका हुन् ।

ncell

गत जुलाई २० तारिकमा संस्थालाई सक्षम, सबल र एकीकृत बनाउन ‘एकताको महाधिवेशन’ गर्ने सहमति बनेको थियो । त्यही निर्णयअनुसार बहुमत पदाधिकारीहरूको उपस्थितिमा भएको छलफलले राकेशप्रसाद महतोलाई संयोजक तोकेर भदौ १४ गते अधिवेशन गर्ने निर्णय गरिएको थियो । तर सो सहमति वैधानिक नभएको दाबी गर्दै अर्को पक्षले छुट्टै समिति बनाएपछि विवाद चुलिएको हो ।

संयोजक इन्द्र नारायण लिम्बूले पत्रकारहरूसँगको छलफलमा भने, 'संस्थाभित्र देखिएको विभाजन र गुटबन्दी दीर्घकालीन रूपमा हानिकारक हुन्छ। व्यक्तिगत विचारमा संस्था चल्नु हुँदैन, त्यसैले हामी सबैलाई समेटेर, समान अवसर दिएर नेतृत्व चयन गर्ने तयारीमा जुटिरहेका छौं ।' उनले आगामी अधिवेशनलाई भव्य बनाउन निर्वाचन अधिकृत तोकिसकिएको र व्यवस्थापकीय तयारी थालिएको पनि जानकारी दिए ।

यसैबीच, गत जुलाई २७ मा डा. बद्री केसी पक्षधर समूहले भने दुई वटा क्षेत्रीय समितिको अधिवेशन गरिसकेको दाबी गर्दै आफूहरू नै वैधानिक भएको घोषणा गरेका थिए । सो समूहले राकेशप्रसाद महतोलाई निर्विरोध अध्यक्ष चयन गरिसकेको बताएको छ । अर्कोतर्फ, महेश श्रेष्ठ पक्षधर समूहले पनि भदौ १४ गते नै अधिवेशन गर्ने तयारी गरिरहेका छन् । यसले संघभित्रै थप अन्योलता र विभाजन बढाएको छ ।

पूर्वमहासचिव टिकाराम अधिकारीले भने, 'हाम्रो साझा संगठनलाई गुटगत स्वार्थले कमजोर पार्नु हुँदैन । सहमति, सामूहिकता र संस्थागत एकतामार्फत मात्र एनआरएनए मलेसियालाई सबल बनाउन सकिन्छ ।' उनले जुलाई २० मा भएको सहमति कार्यान्वयन गर्ने प्रयास अझै सम्भव रहेको बताए ।

आगामी अधिवेशनसँगै तिज विशेष कार्यक्रम पनि आयोजना गरिने छ । कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार गायिका शोभा त्रिपाठी, गायक बुद्ध लामा तथा मलेसियामा रहेका स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारिएको र मलेसियामा रहेका नेपाली समुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ ।

संघको आन्तरिक विवादबीच हुने अधिवेशन र सांस्कृतिक कार्यक्रममा सहभागिता कस्तो हुन्छ भन्ने चासो बढेको छ । तर आयोजकहरूले भने यसलाई एकताको अवसरका रूपमा उपयोग गर्ने अपेक्षा राखेका छन् ।

ताजा खबर

सम्बन्धित खबर