२०८२ वैशाख २८ गते आइतवार / May 11 , 2025 , Sunday
२०८२ वैशाख २८ गते आइतवार
Ads

सम्झौताको एक वर्ष अघिनै तार्दीखोला मोटरेवल पुल सम्पन्न हुँदै

मध्यान्ह
२०८२ वैशाख २७ गते २१:४६
सम्झौताको एक वर्ष अघिनै तार्दीखोला मोटरेवल पुल सम्पन्न हुँदै

लमजुङ : लमजुङमा दर्जनौं योजनाहरु निर्माणाधीन छन् । ती अधिकांश योजनाहरुले पटक–पटक म्याद थप गर्दै अघि बढेपनि निर्माण कार्य सम्पन्न भने हुन सकेको छैन । यस्ता योजनाहरुले जिल्लाको विकास निर्माणमा समेत असर गर्दै आएको छ । निर्माण कार्य थालनी गरेपनि समय थप गर्दा पनि सम्पन्न नभएको योजनाहरु देखेर स्थानीयहरु आजित भएका छन् । 

तर यहाँ तार्दीखोला मोटरेवल पुलको निर्माण कार्य भने सम्झौताको ११ महिना अगावै सम्पन्न हुन लागेको छ । यो पुल समय अगावै सम्पन्न हुने मात्र होइन जिल्लाकै उदारणीय निर्माण कार्य हुनेछ । जिल्लास्थित दोर्दी गाउँपालिका १ र राईनास नगरपालिका ९ जोड्ने यस मोटरेवल पुलको निर्माण अवधि भन्दा ११ महिना अघि सम्पन्न हुन लागेको र हालसम्म ९० प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

यस कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलले भने, ‘यस पुलको अधिकांश निर्माण कार्य सम्पन्न भएको छ, अब केही दिनमा यसको निर्माण कार्य सम्पन्न हुने र यससँगै निर्माण अवधि रहेको करिब एक वर्ष अगावै यस पुल सम्पन्न हुनेछ ।’

एप्रोज रोड र रिभर फिनिसिङका केही काम र रङरोगन कार्य बाहेक सबै काम सम्पन्न भएको उनको भनाइ छ । 
कार्यालयका अनुसार १ स्पानको आसीसी बृर्ज रहेको र यसको दुई तर्फ १÷ १ वटा पिलर गरी २ वटा मात्र पिलर रहेको छ भने २० मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाइ छ ।

वि.सं. २०८० चैत १३ गते सम्झौता गरी वि.सं. २०८२ चैत १२ गतेसम्म सम्पन्न गर्ने गरी ओससीस आङबुहाङ जेभीले निर्माण कार्य अगाडि बढाएको छ । सम्पन्न गर्नुपर्ने समय करिब एक वर्ष जस्तै बाँकी रहेको र अब हप्ता दश दिनभित्रमा सबै काम सम्पन्न हुने कार्यालय निमित्त प्रमुख सिग्देलको भनाइ छ ।

सो समयमै निर्माण कार्यसम्पन्न भएसँगै समय अगावै कमै सम्पन्न हुनेमध्ये यो पुल हुनेछ । ५ करोड १२ लाख २८ हजार ४४८ रुपैयाँ १६ पैसाको स्टमेन्ट गरेपनि ठेकेदारले ३ करोड १९ लाख ९९ हजार ८३४ रुपैयाँ ५० पैसामा निर्माण कार्य गरेको उत्त कार्यालयलले जनाएको छ । 

कार्यालयका अनुसार दुई करोड रुपैयाँ विनियोजित रहेको र ९० लाख ६० हजार रुपैयाँ बजेट अपुग भएकाले रकमान्तरको लागि पेश गरेको छ । यस पुल सम्पन्न भएसँगै विषेशगरी दोर्दी १ भारते र राइनास ९ प्यारजुङका स्थानीय लाभान्वित हुनेछन् । 
यस पुल हप्तादिश दिनभित्रमा सम्पन्न भएमा निर्माण अवधि अगावै करिब ९ महिना अघि नै सम्पन्न हुनेछ । जिल्लाका अधिकांश योजनाहरु पटक पटक म्याद थप गर्दा पनि नसकिएको बेला यो पुल भने समय अगावै सम्पन्न हुनेछ ।

त्यस्तै, मादी नदीपुल सिसाघााट सडक स्तरोन्ती कार्य समेत अन्तिम चरणमा पुगेको छ । यस सडकको ९७० मिटर कालोपत्रे गर्ने कार्यमध्ये अब १०० मिटर मात्र बाँकी रहेको पूर्वाधार कार्यालयका निमित्त प्रमुख सिग्देलको भनाइ छ । 
यस सडकको लागि दुई करोड ७० लाख १२९ रुपैयाँ ६८ पैसाको स्टमेन्ट गरेकोमा १ करोड ४१ लाख १३ हजार ६५ रुपैयाँ २७ पैसामा क्विज कन्टन्सटेन्सी प्रालिले जिम्मा लिएको उनको भनाइ छ । यस सकड पनि केही दिनमा सम्पन्न हुनेछ ।

विसं. २०८१ वैशाख १८ गते सम्झौता भएको र विसं. २०८२ वैशाख १८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।

निर्धारित समय भन्दा केही समय पछि सकिन लागेपनि धेरै समय नलाग्ने सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस सडकको समेत पैसा अभाव भएकाले ५० लाख रुपैयाँ रकम रकमान्तरको लागि पेश भएको छ ।

जिल्लाका अधिकांश ठूलादेखि साना योजनाहरुको रकम अपुग भएको र करिब १५ करोड रकम रकमान्तरको लागि पेश गरेको कार्यालयले जनाएको छ ।

ADV

सम्बन्धित खबर