काठमाडौं : काठमाडौंदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययन थालिएको छ ।
टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न टोली प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले काठमाडौंलाई रारासँग जोड्ने अभियान सुरु भएको बताए । ’काठमाडौंलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको छ ।
पर्यटकलाई काठमाडौंबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुने विश्वास लिएका छौं,’ उनले भने । भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउने र आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा पनि योगदान दिने उनको भनाइ छ ।
टीबानका अध्यक्ष भीष्म न्यौपानेले काठमाडौंदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यात्रा उपयोगी हुने बताए । ‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रूपमा अघि बढ्नेछौँ,’ उनले भने ।