काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् । मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैंले अनुभव गरेको बताए । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको उनले उल्लेख गरे । त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गरे । यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उनको सुझाव छ ।
संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको र संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको बताए । साथै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुशीको विषय भएको उनले बताए ।