डडेल्धुरा : अमरगढी नगरपालिका-३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय यहाँ अवलोकन तथा पूजाआजा गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।
बूढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित हुँदै गएको छ । यसलाई यहाँको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।
अहिले घटालथानमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी अवलोकनका साथै यस क्षेत्रमा वनभोज खान आउने गरेका छन् । विभिन्न जिल्लाका विद्यार्थी तथा बाह्य जिल्लाका र विदेशबाट गरी दैनिक दुई सयको हाराहारीमा ‘घटालथान’मा पर्यटकहरू आउने गरेका उनले जानकारी दिए । विशेष गरेर मंगलबार र शनिबार घटालथानमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।
सदरमुकाम बागबजारबाट पश्चिम-दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा घटालथान रहेको छ । जिल्ला सदरमुकामबाट ‘घटालथान’ पुग्न गाडीबाट १५-२० मिनेट र पैदल एक घण्टा समय लाग्छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार-आइतबजार-घटाल मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य वैकल्पिक बाटो चिमिरिकोट-वीरखम्ब-टुँडा-चम्साल हो । “डोटी खोलाको बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुंगै नौला र ऐतिहासिक हिङ्लो पिङ पनि रहेकाले घटाल पुग्नेले पिङको आनन्द लिन सक्छन्”, उनले भने ।
घटालको महिमा
देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरि बालुवा लिएर खाने गरेको जनविश्वास रहिआएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष बोहराले बताए ।
“धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको र अहिले पनि धामीले सात–आठ मुठीजति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीय रूपमा प्रचलित छ”, उनले भने ।
मुखभरिको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्छन् । आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन् । किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि घटालबाबा स्थापना गरिएको जनविश्वास रहेको उनले जानकारी दिए ।
पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन् ।