काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर जाने गरेपनि भारतसँगको खुला सीमाका कारण एनओसी नलिइ जाने गरेको बताए । उनले कति विद्यार्थी उक्त किट विश्वविद्यालयमा अध्ययनरत छन् भन्ने एकीन तथ्यांक मन्त्रालयसँग नभएको बताए ।
विद्यार्थी अध्ययनरत शैक्षिक संस्थाले दिएको तथ्यांकलाई नै आधिकारिक मान्नुपर्ने अवस्था भएको उनको भनाइ छ । उनले एउटै शैक्षिक संस्थामा केही समयको अन्तरालमा विद्यार्थीको मृत्युको घटना हुनुको कारणबारे छानबिन भइरहेको बताए । उनले घटनाको सत्यतथ्य पत्ता लगाउन विद्यार्थी पठाउने शैक्षिक एजेन्सीसँग सम्पर्क गरी छलफल गर्न मन्त्रालयका अधिकारीहरुलाई आफूले निर्देशन दिएको बताए ।
मन्त्री पन्तले उक्त विषयमा शिक्षा तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाउन गम्भीर ढंगले लागिपरेको बताए ।