२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

नेपाल वन प्राविधिक संघ लुम्बिनीको अध्यक्षमा खड्का निर्वाचित

सुर्य प्रसाद भुसाल
२०८२ वैशाख १७ गते १८:५१
नेपाल वन प्राविधिक संघ लुम्बिनीको अध्यक्षमा खड्का निर्वाचित

लुम्बिनी : नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डिभिजन वन कार्यालय अर्घाखाँचीमा कार्यरत वन अधिकृत केशर खड्का निर्विरोध निर्वाचित भएका छन् । प्रजातान्त्रिक वन प्राविधिक संघ डिफान लुम्बिनीको महासचिवसमेत रहेका खड्का नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाको तर्फबाट उम्मेदवार बनेका थिए । खड्काको उम्मेदवारीविरुद्ध कुनै संगठनले उम्मेदवारी दर्ता नगरेपछि उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा सूर्यप्रसाद मैनाली, सचिवमा रोबर्ट महरा र अनुपा सिलवाल तथा कोषाध्यक्षमा राघवेन्द्र प्रताप चौधरी निर्वाचित भएको निर्वाचन अधिकृत यज्ञमुर्ति खनालले जानकारी दिए । यस्तै कार्यसमितिको सदस्यहरूमा नवराज शाही, नवीन पाण्डे, भावना रिजाल, कविता गैरे, एजाज अन्सारी र कमला सुनार निर्विरोध निर्वाचित भएको खनालले बताए ।

नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशमा १६ सय जना सरकारी कर्मचारीसहित ७ हजार बढी वन प्राविधिक मतदाता रहेका छन् । नेपाल संघीय संरचनामा गएपछि सबैभन्दा बढी  इन्जिनियरिङ एसोसिएसनमा सदस्य छन् भने लुम्बिनी प्रदेशमा वन प्राविधिक संघ नै प्रदेश समितिको निर्वाचन गर्ने पहिलो संस्था भएको नवनिर्वाचित अध्यक्ष केशव खड्काले दाबी गरे ।

खड्काले लुम्बिनी प्रदेशमा वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई थप सुदृढ बनाउने र यसबारे बहस पैरवी चलाउने काम प्राथमिकतामा रहेको बताए ।

देशको ४५ प्रतिशतभन्दा बढी हिस्सा वन क्षेत्र हुँदाहुँदै काठ, दाउरा जंगलमै सडेको र वार्षिक अर्बौं रुपैयाँको काठ विदेशबाट आयात गर्नुपर्ने बिडम्वना भएकाले यसलाई रोक्न  संघले भूमिका खेल्ने खड्काले बताए ।

वन स्रोतको प्रभावकारी व्यवस्थापनका लागि पर्याप्त मात्रामा दरबन्दी सिर्जना गरी वन व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारसँग छलफल गर्ने, प्रदेशका १०९ वटै स्थानीय तहमा वन प्राविधिकको दरबन्दी सिर्जना गर्न दबाब दिइने र वन प्राविधिकहरूको क्षमता विकासका लागि सरकारको ध्यानाकर्षण गराउने कार्यसमितिको पहिलो काम हुने उनले बताए । 

रुकुमपश्चिमका खड्कासँग लुम्बिनी प्रदेश वन मन्त्रालयको योजना शाखा प्रमुख हुँदै वन मन्त्रीहरूको निजी सचिव बनेर काम गरेको अनुभव छ । नेपाल निजामती कर्मचारी युनियनमा समेत अब्बल नेताको रूपमा स्थापित खड्का डिफानमा सबैभन्दा बढी लोकप्रिय र अनुशासित अब्बल अधिकृतको रूपमा परिचित छन् ।

ADV

सम्बन्धित खबर