२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’

shivam cement
मध्यान्ह
२०८२ वैशाख ६ गते १३:०७
‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’

काठमाडौँ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौँका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् । 

काठमाडौँको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।

 उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरूप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए । 

उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए । उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे । 

उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए । 

कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौँ भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उनले बताए ।

थर्ड आई युथ क्लबका सुवास राईको समाजमा केही गरौँ भन्ने भावनाबाट यो अभियान सुरु गरी यसलाई हालसम्म निरन्तरता दिइएकाले दुनियाँले के भन्छ भन्ने कुरामा नलागी आत्मसन्तुष्टिका लागि काम गरिएको बताए ।

यसअघि बुद्धनगरस्थित सेतो गणेशस्थानबाट  सुरु भएको सरसफाइ कार्यक्रमका सभापति समाजसेवी सप्तराज बज्राचार्यले सहभागी सबैलाई सरसफाइलाई निरन्तरता दिई १० वर्ष पूरा गरेकामा धन्यवाद दिए । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, काँग्रेस नेतृ सृजना सिंह र नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति रविन्द्रविक्रम राणालगायत सहभागी थिए । 

ADV

सम्बन्धित खबर

Advertise