२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

अर्घाखाँचीमा लक्ष्यको ९५ प्रतिशत किशोरीहरुले लगाए एचपीभी खोप

कृष्ण परियार
२०८१ चैत ८ गते २२:२३
अर्घाखाँचीमा लक्ष्यको ९५ प्रतिशत किशोरीहरुले लगाए एचपीभी खोप

सन्धिखर्क : अर्घाखाँची जिल्लामा लक्ष्यको ९५ प्रतिशत किशोरीहरुले एचपीभी खोप लगाएको पाइएको छ । 

महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालित ह्युमन प्यापीलोमा भाइरस (एचपीभी)खोप अभियान अन्तर्गत अर्घाखाँचीमा लक्ष्य नजिक प्रगति गर्दै सम्पन्न भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत माघ २३ देखि फागुन ६ गतेसम्म सञ्चालित अभियानबाट ७ हजार ५सय २६ किशोरीहरु  लाभान्वित भएको स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीले बताए । 

नेपालीका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्रा तथा विद्यालय बाहिरका  १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको थियो । किशोरी लक्षित अभियान अन्तर्गत ७ हजार ५सय २६ किशोरीहरुले खोप पाएका छन् । खोप अभियान जिल्लाका ६ स्थानीय तहहरुमध्ये  ३ नगर र ३ गाउँपालिका गरी १ सय ४० विद्यालय, ६१ स्वास्थ्य केन्द्र र बाह्य खोप केन्द्र गरी २ सय १ केन्द्रमार्फत चलाइएको थियो ।  

कार्यक्रम सुपरभाइजर कृष्ण प्रसाद पोख्रेलका अनुसार जिल्लाभरमा ७ हजार ९ सय २५ किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य राखिएकोमा ९५ प्रतिशत अर्थात् ७ हजार ५सय २६ किशोरीहरुले खोप लगाउन सफल भएका छन् । 

लक्ष्यको ५ प्रतिशत किशोरीहरुलाई अभियानमा समेट्न नसकिएको उनको भनाइ छ ।  जसअनुसार ६ वटै स्थानीय तहका ७ हजार ५सय २६ किशोरीहरु खोपबाट लाभान्वित भएका छन् । बाँकी रहेकाहरुलाई पनि  कुनै न कुनै माध्यमबाट खोप दिलाउने योजना स्वास्थ्य कार्यालले लिएको छ ।  

तहगत हिसाबमा सबैभन्दा बढी सन्धिखर्क नगरपालिकामा १ हजार ८ सय ५, शितगंगा नगरपालिकामा १ हजार ४ सय ७५, मालारानी गाउँपालिकामा १ हजार २ सय ४२, भूमिकास्थान नगरपालिकामा १ हजार २ सय २४, पाण्निी गाउँपालिकामा ९ सय ७० र छत्रदेव गाउँपालिकामा ८ सय २१ किशोरीहरुले खोप लगाएका छन् । 

अभियानमा लक्ष्यको सबैभन्दा धेरै मालारानी गाउँपालिकाले ९९ प्रतिशत र सबैभन्दा कम सन्धिखर्क नगरपालिकाले ८९ प्रतिशत किशोरीहरुलाई खोप लगाउन सफल बनेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार एचपीभी खोपले महिलाको बच्चादानीको मुखमा हुने क्यान्सरको जोखिम उल्लेख्य रूपमा रोक्न सक्ने पुष्टि भइसकेको छ । प्रजनन् उमेर पुग्नु भन्दा अगावै यो खोप लगाउँदा बढी प्रभावकारी हुने भएकाले नेपाल सरकारले १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप अभियान संचालन गरेको हो ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुख नेपाली आएसँगै चालु आर्थिक वर्ष २०८१÷०८२ मा औषधीहरुको व्यवस्थापन गर्न अनलाइन इएलएमआइएस कार्यक्रम, अनलाइन इएचएमआइएस, अनलाइन इएचएमआइएस, पेपरलेस कार्यक्रम, एक वडा एक स्वास्थ्य संस्था, एक तालिम प्राप्त स्वास्थ्यकर्मी, कुपोषित बालबालिकाहरुको खोज कार्यक्रम, नसर्ने रोगहरुको पहिचान अभियान, स्थानीय तहमा स्वास्थ्य शाखाहरुको पारस्परिक भिजिट कार्यक्रम, स्वास्थ्य शिक्षा प्रवद्र्धन कार्यक्रम, ट्राफिकसँग सडक दुर्घटना सम्बन्धी अन्तरक्रिया कार्यक्रम, खाद्य सुरक्षा कार्यक्रम, फेमेली हेल्थ हिस्टोरी रेर्कड लिने, विद्यालयका किशोरकिशोरीहरुमा रक्तअल्पता परीक्षण कार्यक्रम, घरमा हुने सुत्केरी शुन्य बनाइ पूर्ण संस्थागत सुत्केरी वडा तथा संस्था घोषणा अभियान लगायतका  कार्यक्रमहरु संचालन गरिएको छ । यस्तै आगामी दिनमा मोवाइल स्वास्थ्य कार्यक्रम संचालन गर्ने प्रमुख नेपालीले बताए ।
 

ADV

सम्बन्धित खबर