२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

रोशी गाउँपालिकाले विपद् प्रभावितलाई विशेष योजना ल्याउँदै

Nada
२०८१ कार्तिक २९ गते १२:३८
Shares
रोशी गाउँपालिकाले विपद् प्रभावितलाई विशेष योजना ल्याउँदै

काभ्रेपलाञ्चोक : रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवम् पुनर्वासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको छ । जाडोयाम शुरु भैसकेकाले गाउँपालिकाले आफैं पुनर्वासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।

ncell

गत असोज दोस्रो साताको अविरल वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्‍याएपछि १५औं अधिवेशनले चालु आर्थिक वर्षको योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ । विपद् प्रभावित परिवारका लागि राहत, पुनःस्थापन एवम् पुनर्वासका कार्यक्रम सञ्चालन गर्न विशेष अधिवेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताए ।

गाउँपालिकाले शुक्रबार गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको हो । कार्यालयले बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधिसम्बन्धी ऐन–२०७५, को दफा ३ को उपदफा १ बमोजिम गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ । अधिवेशन सकिएलगत्तै विपद् व्यवस्थापनका लागि योजना तयार गरिने अध्यक्ष लामाले बताए ।

रोशी गाउँपालिकामा बाढीपहिरोले १२ जनाको अकालमा निधन भएको थियो । कार्यालयका अनुसार बाढीपहिरोबाट चार सय ८२ परी पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिकरुपमा क्षति पुगेको थियो । यस्तै दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । 

बाढीपहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ । कार्यालयले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्णरुपमा घर क्षति भइ मृतक तथा समस्यामा परेका एक सय १० परिवारलाई प्रारम्भिक नगद तथा अन्य राहत उपलब्ध गराइएको तथा बाढीपहिरोका परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च वापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गरेको जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर