विषय प्रवेश
नुवाकोटको शिवपुरी गाउँपालिका–१ (साबिक तलाखुँ–१) मा जन्मिएर हाल काठमाडौँ सुन्दरीजल, नयाँपाटीमा बसोबास गर्ने राजु केसीको कर्मभूमि भने साउदी अरेबिया हो । केसी साउदी अरेबियाको बहुराष्ट्रिय डेरी उत्पादक कम्पनी अलमराइमा कार्यरत छन् ।
बहुचर्चित कम्पनी अलमराइमा उनी हाल सिनियर सेल्स सुपरभाइजरको पदमा कार्यरत छन् । विश्वका ६० मुलुकबाट उक्त कम्पनीमा कामदार जाने गरेका छन् । जहाँ झन्डै ८५ हजार कामदार छन् । जहाँ नेपाली मात्रै पनि ५५ सयको हाराहारीमा कार्यरत रहेको केसीले सुनाए ।
आकर्षक तलब र सुविधा पाइने, व्यवस्थापन तहको सेल्स म्यानेजरको उच्च जिम्मेवारीमा पुग्नु अन्य नेपाली कामदारहरूका लागि लोभलाग्दो अवस्था हो । आज त्यही लोभलाग्दो अवस्थामा केसी पुगेका छन् । यद्यपि, केसीको शुरुवाती भने निकै कठिन थियो ।
शुरुवाती र संघर्ष
पाँच सन्तानमध्ये केसीको जन्म चौथो सन्तानको रूपमा भएको थियो । उनका दुई दाजु, एक दिदी र एक बहिनी छन् ।
परिवारबाट पहिलो प्लस टु पास गर्ने पनि उनी नै हुन् । राम्रो अंकमै प्लस टु पास गरेकै कारण उनका बुबाले उनलाई गाउँमै शिक्षक बन्न आग्रह गरेका थिए । उनको चाहना आफ्नो छोरा शिक्षक बनोस् र गाउँमै सेवा गरोस् भन्ने थियो ।
“सायद, बुबालाई छोरो शिक्षक बनेर हिँडेको हेर्न रहर थियो, हुन पनि गाउँमा शिक्षक असाध्यै सम्मानित पेसा पनि हो”, त्यो समयलाई सम्झिँदै केसी भन्छन् ।
तर, उनलाई शिक्षक होइन, आर्मी बन्ने रहर थियो । “मलाई आर्मी बनेर देशको सेवा गर्ने रहर थियो, तर भाग्यले साउदी ल्यायो, कर्मभूमि नै साउदी बनाइदियो”, उनले भनेका छन् ।
उनी २० वर्षअघि अर्थात् सन् २००४ मा साउदी छिरेका थिए । महाराजगञ्जस्थित ब्यू स्काई इन्टरनेशनल प्रा.लि.बाट सेल्स भ्यानमा हेल्परको रूपमा उक्त कम्पनी प्रवेश गरेका थिए ।
“निकै गर्मी ठाउँ, त्यो पनि सेल्स भ्यानको हेल्पर काम, निकै कठिन थियो”, साउदीको शुरुवाती समय अत्यासलाग्दो भएको केसी बताउँछन् ।
यद्यपि, उनले त्यही कठिन यात्राबाट धेरै कुरा सिके । २० वर्षको बिचमा सेल्स सहयोगीको रूपबाट उनी कम्पनीकै सिनियर सेल्स सुपरभाइजरसमेत बने ।
केसीका अनुसार साउदी अरबमा यत्तिको जिम्मेवारीमा पुग्ने नेपाली औँलामा गन्ने अवस्थामा छन् । एउटै काम र क्षेत्र रोज्नु पनि उनका लागि सफल बन्ने कडी थियो ।
“मान्छेहरू वर्षैविच्छे काम र ठाउँ परिवर्तन गर्छन्, उनीहरू न राम्रोसँग काम जान्छन्, न त ठाउँ नै चिन्छन्, तर मैँले त्यसो गरिन, २० वर्षसम्म एउटै ठाउँ र काम रोजेँ, अलमराइको दमन भन्ने डिपोमा काम गरिरहेँ”, उनले भनेका छन् ।
सामान्य किसान परिवारमा जन्मिएका केसीले साउदी अरब पुगेर आफ्नो मात्रै उन्नति गरेनन्, आफूसँगै परिवारका सबै सदस्यको उन्नति पनि गराए । नुवाकोटको तलाखुँबाट आफू मात्रै नभई दाजुभाइलाई पनि काठमाडौँ झारे । उनको परिवार अहिले नुवाकोटको तलाखुँबाट काठमाडौँको सुन्दरीजल झरेको छ ।
“म त्यो सामान्य किसान परिवारको मान्छे, साउदी अरब आएर, कमाएर आफूसँगै दाजुभाइलाई पनि केही गर्न सकेँ, आज त्यो तलाखुँबाट काठमाडौँमा परिवारलाई ल्याएको छु”, केसी भन्छन् ।
यद्यपि, केसी परिवारलाई मात्रै खुसी बनाउने व्यक्ति भने होइनन् । साउदीमा पनि उनको परिचय अलमराई कम्पनीको म्यानेजर मात्रैको रूपमा छैन । त्यहाँ उनको परिचय समाजसेवीको रूपमा समेत छ ।
विभिन्न कारणले समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्ने, उनीहरूलाई स्वदेश फर्काउने सहयोगीको रूपमा धेरैले केसीलाई चिन्छन् ।
नेपालीको दुःख देख्नै नसक्ने केसी
जब उनी साउदी अरबमा अलपत्र परेका नेपाली भेट्छन्, उनी उनीहरूलाई उद्धार गर्न लागिहाल्छन् । उनलाई त्यसरी उद्धारमा हात बटाउन पाउनु, संसारै जितेजस्तो अनुभूति हुन्छ ।
“सायद पराई भूमिमा भएर होला, नेपालीलाई देख्दा, नेपालीलाई सहयोग गर्न पाउँदा संसार नै जिते जस्तो लाग्छ”, केसी भन्छन्, “सहयोग गर्नुपर्ने अवस्था आउनु विडम्बनाको कुरा हो, तर सहयोग गर्न अवसर पाउनु चाहिँ साह्रै गौरव अनुभव हुन्छ ।”
कोठामा थुनिएर, तीन÷चार दिनसम्म खाना खान नपाएका नेपालीलाई उद्धार गरेको क्षण उनी कहिल्यै बिर्सिन्नन् । त्यो बेला उनी आफू पनि निकै भावुक बनेका थिए । त्यही क्षणदेखि नै समाजसेवामा लाग्ने अठोटमा लागेको उनले सुनाए ।
“केही साथीहरूबाट अलपत्र नेपालीहरूको बारेमा खबर आयो, जब हामी पुग्यौँ, त्यो देख्दा हामी आफैँ सम्हालिन सकेनौँ”, त्यो क्षण सम्झिँदै केसी भन्छन्, “१५ जना तराईमुलका नेपाली, कयौँ दिनदेखि खान नपाएर एउटै कोठामा थुनिएर बस्नुभएको रहेछ, त्यो बिजोग अवस्था सम्झिँदा पनि जिउ जिरिङ्ग हुन्छ ।”
नेपाली साझा मञ्च साउदी अरेबियाका महासचिवसमेत रहेका केसी साउदीमा अप्ठ्यारो परेका नेपालीको साथी हुन् । उनी जहाँ नेपाली अप्ठ्यारोमा पर्छन्, त्यहाँ पुगिहाल्छन् ।
केसीको बुझाइमा सप्लाई कम्पनीमार्फत नेपाली कामदार लैजान थालिएपछि अरबमा अलपत्र पार्ने अवस्था धेरै बन्यो । त्यस्ता नेपालीलाई फर्काउने काम जेनतेन भइरहेको भए पनि भरपर्दो स्रोत नहुँदा समस्या निरूपण भएको छैन ।
सरकार जिम्मेवार नबनेसम्म खाडीमा अलपत्र पर्ने क्रम नरोकिने उनको बुझाई छ ।
साउदी अरेबियाको रियादमा नेपाली राजदूतावास र जेद्वामा महावाणिज्यदुतावासको कार्यालय छ । तर, नेपाली कामदारको ठुलो संख्या दमाम आसपास छ ।
दमामका नेपाली राहदानी नवीकरणका लागि दूतावास पुग्न नै १५ हजार खर्च गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । दमाम क्षेत्रमा पनि महावाणिज्य दूतावासको कार्यालय राखेर आफ्ना नागरिकलाई सहयोग गर्नुपर्ने केसीको भनाई छ ।
सरकारलाई सुझाव
साउदीमा निकै कम तलब पाउने र जोखिमयुक्त काम गर्नेमा नेपाली कामदार पर्दछन् । जसको कारण अरू नभई सरकार भएको बुझाई केसीको छ ।
अदक्ष कामदार मात्रै पठाउने परिपाटी हुँदा समस्या बनिरहेको उनले सुनाए । “साउदीमा नेपाली कामदार जान थालेको तीन दशक भइसक्यो, तर यहाँ सबैभन्दा जोखिमयुक्त काम र सबैभन्दा कम तलब नेपालीले पाउँछन्, यसको कारण अदक्ष कामदार आउनु हो”, केसीले भनेका छन्, “जसतर्फ सरकारको ध्यानै गएको छैन ।”
साउदीमा आउन चाहनेहरूलाई सीप सिकेर मात्र आउन केसीको सुझाव छ । साउदीमा ड्राइभिङ र कफी मेकरको निकै माग रहेको उनले बताएका छन् ।
पछिल्ला दिनमा साउदीले विदेशी महिला कामदार पनि लैजान थालेको छ । नेपालले बदलिएको साउदी नीतिबाट फाइदा लिन सक्नुपर्ने केसीको बुझाई छ ।
साउदी सन् २०३४ को विश्वकप फुटबल आयोजना र अन्य महत्वकाक्षी परियोजनाहरू पनि अघि बढाएको छ । कतारमा सम्पन्न विश्वकप फुटबलका रङ्गशाला निर्माणमा नेपाली कामदारले गरेको परिश्रमको साउदी अरेबियाले नजिकैबाट पहिचान गरेकोले उक्त गुडवीलका कारणले नेपाली कामदारले मौका पाउने अवस्था रहेकोले नेपाल सरकार चनाखो भएर लाग्नुपर्ने केसीको सुझाव छ ।
नेपालमै फर्केर समाजसेवा गर्ने रहर
आमाबुबालाई भगवान मान्ने उनी परिवारसँगै नेपालमै बस्ने चाहनामा छन् । तर, कामको बाध्यताले अरब छाड्न नसकेको उनको गुनासो छ ।
उनलाई सबैभन्दा मन छुने कुरामा, अरबै छँदा बुबाको देहान्त हुन पुग्नु पनि हो । “म अरबमै थिएँ, बुबा बित्नुभयो, अन्तिम क्षणमा पनि सँगै हुन पाइएन”, भावुक हुँदै केसीले सुनाए ।
केसी आफ्नै जन्मभूमिमा आएर केही गर्ने सोचमा पनि छन् । साउदीमा जस्तै नेपालको बजार व्यवस्था बनाउन सके, कति राम्रो हुन्थ्यो होला भन्ने कल्पना केसीको छ ।
“मसँग उत्पादनको अनुभव त छैन तर, बजार व्यवस्थापनको राम्रो अनुभव छ, नेपालको बजारलाई कसरी व्यवस्थित बनाउने, कसरी उपभोक्ता रोजाइअनुसारको उत्पादन उपलब्ध गराउने, जस्ता कुराको आइडिया छ”, उनी भन्छन्, “नेपालमा पनि स्वस्थ प्रतिस्पर्धात्मक मार्केट हुनुपर्छ, उपभोक्ताको हितलाई ख्याल गर्ने खालको हुनुपर्छ ।”