२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

देशको गौरव र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति हो : राष्ट्रपति पौडेल

Nada
२०८१ असोज ७ गते १२:५२
Shares
देशको गौरव र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति हो : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् ।

ncell

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औं वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । “हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवम् रैथाने ज्ञान परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”, उनले भने । 

उनले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए । “भाषा मानिसका चाहना, भावना, विचारहरूको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवम् कलात्मक अभिव्यक्ति हो, साहित्यले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै साथसाथै भाषालाई युगौं युगसम्म जीवित राख्ने काम पनि गर्छ”, राष्ट्रपति पौडेलले भने । 

मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चरणमा साहित्यको अहम् भूमिका रहेको उनको भनाइ थियो । “साहित्यको यो महत्वलाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्वपूर्ण प्राज्ञिक संस्थाको महत्वपूर्ण भूमिका रहेको हुन्छ”, राष्ट्रपति पौडेलले भने ।  

नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्समा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविहरूको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उनको भनाइ थियो । 

“मलाई आशा छ, आगामी वर्षहरूमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुंगा सावित हुनेछ”, राष्ट्रपति पौडेलले भने । सो अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

सम्बन्धित खबर