दिलमाया शाही/मध्यान्ह
जुम्ला : जिल्लामा एक वर्षको अवधिमा एक सय ५७ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले आ.व ०७९ को फागुन १ गतेदेखि २०८० को हालसम्म विभिन्न अपराधका १ सय ५७ वटा मुद्दा दर्ता भएको बताए ।
सरुवापछि आफ्नो कार्यकालमा भए÷गरेका प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले मानव बेचबिखनका दुई वटा, भवितव्य र फुटकर ज्यानबाट कर्तव्यमा परिणत भएका १६ वटा, जुवातास १४, भवितव्य ज्यान ३२, विष सेवन ४, अन्य २ गरी ५२ वटा, जजक २ वटा र अपहरण, शरिर बन्धक, जजक, व्यक्ति बेपत्ता र ज्यान मार्ने उद्योगका ३ वटा गरी जम्मा ७५ वटा मुद्दा पेण्डिङमा रहेको बताए ।
उनले भने,‘प्रहरी ऐनले नेपाल प्रहरीलाई मुख्य गरी अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी दिएको छ । कानूनद्वारा निर्देशित आपराधिक कार्यको रोकथाम गर्ने, अपराधी पत्ता लगाउने, प्रमाण संकलन गर्ने र अपराधीलाई कानून बमोजिम सजाय दिलाउने कार्यादेश नेपाल प्रहरीलाई दिइएको छ । त्यसै अनुरुप हामीले काम गर्दै आएका छौं ।’
काठमाडौंको रानी पोखरीमा सरुवा हुन लागेका उनले जुम्लामा रहँदा १३ महिनाको अवधिमा नागरिक केन्द्रित छिटो प्रहरी सेवा प्रवाहमा महत्वपूर्ण कार्य गरेका छन् ।
उनले आफुले महिला र बालबालिकाका विषयमा शुन्य सहनशिलता लिएर काम गरिएको बताए । जुम्लामा सबै भन्दा बढी महिलाहरुमा हिंसा बढेको त्यो पनि श्रीमानबाटै बढी देखिएको बताए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार कालिका मन्दिर परिसरमा डेकोरेशन गरी रङरोगन गरिएको बताए । उनले भने,‘नयाँ स्टोर रुम निर्माण, समीक्षा हल निर्माण कार्य शुरु, कार्यालयमा रहेको जीर्ण मनोग्रामको पुनः निर्माण (ढलान) गरी रङ्गरोगन कार्य सम्पन्न,लागुऔषध नियन्त्रण सम्बन्धी १६ दिने विशेष अभियान, विभिन्न मिति र समयमा समुदाय–प्रहरी साझेदारी अन्तगर्त स्कुल सचेतनामुलक कार्यक्रम (लागुऔषध, साइबर, बालविवाह, बहुविवाह, ट्राफिक नियम र घरेलु हिंसा) र साझेदारी कार्यक्रम अन्तर्गत गाँजा फडानी, घरेलु मदिरा नियन्त्रण, सडक नाटक जस्ता कार्यक्रम गरिएको छ ।’
त्यस्तै नियमित रुपमा समुदाय सम्म अगाडि बढाइएको उनले बताए । यो अवधिमा जम्मा ३०४ वटा कार्यक्रम गरिएको उनको भनाइ छ । व्यारेक भवनको अभाव भएको हुँदा १५ जना प्रहरी कर्मचारीहरु सुत्न मिल्ने व्यारेक निर्माण गरिएको समेत उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies