ललितपुर : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले वैदेशिक रोजगारका क्रममा शोषणमा परेका नेपाली चेलीहरुको उद्धारमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । ललितपुरमा सोमबार आयोजित ‘आप्रवासी कामदारको मानवअधिकार संरक्षणमा आयोगको प्रयास’ विषयक पुस्तक सार्वजनिक गर्दै अध्यक्ष शर्माले नेपाली महिला विदेशमा कामका लागि जाँदा विभिन्न समस्या र शोषण भोग्नुपरेको दैनिकजसो समाचार आइरहेको भन्दै त्यसका बारेमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताए ।
रोजगारीको खोजीमा नेपाली महिलाहरु खाडी मुलुकजस्तो भिन्न परिवेश भएको मुलुकमा जाने र शोषणमा परेर पनि त्यही बस्ने डरलाग्दो प्रवृत्ति देखिएको भन्दै अध्यक्ष शर्माले शोषणमा परेपछि नेपाली चेली विदेशमा बस्न नहुने सुझाव दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले नेपालमा खुला सिमानाका कारण दलालहरुले घरेलु कामका लागि जान चाहने महिलाहरुलाई आकर्षक तलव तथा सुविधाको प्रलोभन दिने र पठाउने क्रम बढ्दो अवस्थामा रहेकोले महिलाहरुको जोखिम बढेको बताए ।
आयोगले त्यस विषयमा गम्भीरताका साथ निगरानी गर्नु जरुरी रहेको सचिव दहालको भनाइ थियो । सचिव दहालले मन्त्रालको तथ्यांक अनुसार हालसम्म ३५ लाखको हाराहारीमा नेपालीहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरुमा गएको जानकारी दिंदै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन मन्त्रालयले प्रदेशस्तरमा शाखा खोल्न लागेको जानकारी दिए ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले वैदेशिक रोजगारका क्रममा ठगीमा पर्ने कामदारहरुलाई न्याय दिलाउन विभाग क्रियाशील रहेको जानकारी दिए । विगतका वर्षहरुमा वैदेशिक रोजगार विभागमा वार्षिक ११ हजारसम्म बैदेशिक रोजगार ठगीका उजुरी दर्ता भएको बताउँदै महानिर्देशक चापागाईले यस वर्ष त्यो संख्या निकै घटेको जानकारी दिए । उनले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन कामदारका उजुरीमा तीव्र सुनुवाई गरिने र कतिपय अवस्थामा कामदारको हितलाई ध्यानमा दिएर मेलमिलापको माध्यमबाट ठगिएको रकम असुल उपर गराइदिने गरिएको पनि जानकारी दिए ।
यता १८ औं विश्व आप्रवासन दिवसका अवसरमा आयोजित एक कार्यक्रममा प्रवासी नेपाली समन्वय समिति (पीएसीसी)ले विगत ५ वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा समस्यामा परेका करिब ७ हजार कामदारको उद्धार गरेको दाबी गरेको छ । सन् २०१३ देखि २०१७ सम्मको अवधिमा खाडी मुलुक र मलेसियासहित अन्य देशमा रोजगारीमा गई समस्यामा परेका नेपालीलाई उद्धार गरेको पीएसीसीले जानकारी दिएको छ ।
त्यसमा ६ हजार ५ सय ४३ जना पुरुष र ४ सय ७ जना महिला रहेको जनाएको छ । उक्त संस्थाले सबैभन्दा बढी मलेसिया त्यसपछि साउदी अरबबाट उद्धार गरेको जनाएको छ । संस्थाका अध्यक्ष कुलप्रसाद कार्कीले रोजगारीमा गई विदेशमा समस्या पर्ने आफ्ना नागरिकका विषयमा नेपाल सरकार गम्भीर नभए भविष्यमा नेपालका लागि त्यो ठूलो चुनौतीको विषय बन्न सक्ने खतरा रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies