लोकतान्त्रिक इतिहास बोकेको पार्टी नेपाली कांग्रेसको महासमितिको बैठक आजबाट शुरु हुँदैछ । महासमितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना हुने निश्चित प्रायः छ । अहिलेको कांग्रेस केही भत्किएको, गुटउपगुटहरूको भारीले अलि सुस्ताएको, क्रान्तिकारितामा ओइलाएको र सैद्धान्तिक मूल्य–मान्यताबाट केही गिरेको अवस्थामा छ । नयाँ संघीय लोकतान्त्रिक संविधानअनुरूप निष्पक्ष तीनै तहको निर्वाचनमा लज्जाजनक पराजयपछि नेपाली कांग्रेस आन्तरिक कलहमा रुमलिरहेको अवस्थामा छ ।
भ्रातृ संगठनहरूलाई अद्यावधिक राख्न नसक्नु, दलभित्र एकता सौहाद्र्रता र टिम स्पिरिट कायम राख्न अक्षम रहनु, गुट उपगुटमा अलमलिनु, जनताका इच्छा अभिलाषा र मागहरूलाई सम्बोधन गर्ने अवस्थामा नरहनु, सडकदेखि सदनसम्म प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने तागत हराउनु, अगुवाहरूको आचरण र व्यवहार अनाकर्षक रहनुजस्ता थुप्रै कारणले कांग्रेस खिइँदै गएको देखिएको छ । पार्टीभित्र जतिसुकै एकताको ढोल पिटे पनि गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा, नातावाद, चाकडी वृत्ति, डनवाद र द्रव्यमोहले पार्टीको अवस्था नाजुक अवस्थामा पुगेको छ । नेतादेखि कार्यकर्तासम्म प्रायः स्वार्थलम्पट ‘सम्पत्ति तथा शक्तिप्रति तीव्र मोह राख्ने’ परिआएमा पैसा मिल्छ भने जोसित पनि घाँटी जोड्न तयार हुने विचौलिया प्रवृत्तिले काँग्रेसको चार तारामा औँशी लागेको छ ।
महाधिवेशन भएको वर्षौं हुँदा पनि केन्द्रीय समितिले पूर्णता प्राप्त गर्न नसक्नु विभागहरूको गठन नहुनु, संघीय संरचना अनुरूप पार्टी विधान नबन्नु र पटक पटक महासमिति बैठक सारिरहनु, योग्य र सक्षम कार्यकर्तालाई उत्तरदायित्वविहीन बनाउनु लोकतान्त्रिक आचरण, विधिविधान लत्याउनु बिडम्बना नै बन्न पुगेको छ । यतिखेर कांग्रेसले महासमिति भेला बोलाएको छ । भेलाले पार्टीभित्रका जल्दाबल्दा समस्या समाधान गरी तदर्थवादी रुग्ण मानसिकतालाई तिलाञ्जली दिन जरुरी छ ।
नेपालको प्रमुख लोकतान्त्रिक पार्टी अब आत्मसमीक्षासाथ आफ्ना विचार, संगठन, रणनीति, कार्यदिशा चुस्त, दुरुस्त, ओजिलो र कालसापेक्ष बनाउँदै अगाडि बढ्नुपर्ने समय आएको छ । गरिब, मजदुर, किसानको झुपडीमा गएर यसको सदस्य अभियानलाई अगाडि बढाउनु पर्ने अवस्था आएको छ । सुकिलामुकिला, सामन्त र उत्पीडकहरूलाई अनि अवसरवादी, भ्रष्टाचारी वा एकाधिकारको सोेच बोक्नेहरूलाई पार्टीबाट बढार्नुपर्ने अवस्था आएको छ । अहिलेको नेपालको शासकीय स्वरूप न्याय प्रणालीलगायतका विवादमा वर्तमान नेताहरूले गहिरिएर बीपीका धारणा विनापूर्वाग्रह गम्भीर अध्ययन, मनन, विश्लेषण गर्ने समय आएको छ । किनकि यतिखेर त नेपालका वाम र दक्षिणमार्गी दुवैले मुटुदेखि नै बीपी सच्चा राष्ट्रवादी र समाजवादी रहेछन् भन्ने बुझेका छन् । कांग्रेसजनले दिमागलाई आराममा हैन अभ्यासमा लगाएर पार्टी विनिर्माणमा लाग्नु उनीहरुकै हितका लगि आवश्यकता छ ।
संस्दीय परिपाटीमा प्रमुख प्रतिपक्षमा रहेको पार्टी जति सशक्त भयो त्यति लोकतान्त्रिक पद्धति मजवुत हुनेछ । यसैकारण पनि अहिलेको कांग्रेस व्यवस्थित र सशक्त हुनु आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies