२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रस्तावित राजदूत सुनारको कार्ययोजना : श्रम सुरक्षा र कूटनीतिक सुधार प्राथमिकतामा

Nada
२०८३ असोज २८ गते १५:५३
Shares
प्रस्तावित राजदूत सुनारको कार्ययोजना : श्रम सुरक्षा र कूटनीतिक सुधार प्राथमिकतामा

काठमाडौं : साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदीमा कार्यरत नेपाली कामदारको सुरक्षा, सेवा प्रवाहमा सुधार र द्विपक्षीय सम्बन्ध सुदृढीकरणलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेका छन् ।

ncell

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सुनारले श्रम सम्झौताको पूर्ण कार्यान्वयन, नेपाली कामदारका समस्या समाधान तथा मृतकको शव नेपाल पठाउने प्रक्रियालाई छिटो र सहज बनाउने प्रतिबद्धता जनाएका हुन् ।

प्रस्तावित राजदूत सुनारले सन् २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको उल्लेख गर्दै यस अवसरमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने बताए ।

सरकारी तथ्यांकअनुसार हाल साउदी अरेबियामा करिब ३ लाख ८५ हजार नेपाली कार्यरत छन् । त्यहाँ कार्यरत नेपाली कामदारले श्रम सम्झौताको अभाव, ‘हुरुब’ अर्थात् कामदारले काम छाडेर भागेको आरोपलगायतका कारण विभिन्न समस्या भोग्नुपरेको विषयमा सुनारले चासो व्यक्त गरेका छन् ।

आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै उनले पहिलो ३० दिनभित्र दूतावासमा पेन्डिङ रहेका मुद्दाहरूको लेखाजोखा गर्ने योजना अघि सारेका छन् । त्यस्तै, नेपाली कामदारको राहदानी नवीकरण तथा प्रमाणीकरणमा देखिएका झन्झट हटाउन अनलाइन प्रणालीलाई प्रभावकारी बनाउने उनको योजना छ ।

राहदानी वितरण प्रक्रियालाई छिटो र सहज बनाउन राष्ट्रिय परिचयपत्रको विवरणसँग प्रणालीलाई जोड्ने तथा दूतावासमा अरबी भाषा जान्ने दोभासे कर्मचारीको व्यवस्था गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन् ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिने बताउँदै सुनारले साउदी अरेबियाका नियोम, रेड सी र किदिया जस्ता ठूला परियोजनामा नेपाली दक्ष कामदारको सहभागिता बढाउन पहल गर्ने उल्लेख गरे । साथै, नेपालमा साउदी लगानी भित्र्याउने, दुई देशबीचको व्यापार घाटा न्यूनीकरण गर्ने र दोहोरो कर प्रणालीसम्बन्धी समस्या समाधानका लागि पहल गर्ने उनको योजना छ ।

नेपाली कामदारको हितलाई केन्द्रमा राख्दै सुनारले साउदी अरेबियामा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने प्रक्रियालाई सरल बनाई सात दिनभित्र सम्पन्न गर्ने लक्ष्यसमेत अघि सारेका छन् ।

उनका प्रस्तावित योजनाहरू कार्यान्वयनमा आए साउदीमा कार्यरत नेपाली कामदारले भोग्दै आएका समस्या समाधान गर्न, दूतावासको सेवा प्रवाह प्रभावकारी बनाउन र नेपाल–साउदी सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर