
काठमाडौँ : नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ ।
एमाले निकट मजदुर संगठन (जिफन्ट)को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार १८ अस्थायी आवाससहित प्रत्येक आवासका लागि शौचालय, बिजुली, पानी लगायतको समेत व्यवस्थापन गरिएको छ ।
अस्थायी आवास निर्माण अभियानमा जिफन्ट विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो क्षति भएको थियो ।