
रौतहट : नेपालीहरूको महान् चाडपर्व दसैं, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा सवारी साधन तथा यात्रुहरूको चापलाई मध्यनजर गर्दै रौतहटमा सुरक्षित र सहज आवागमनका लागि विशेष सुरक्षा तथा सहजीकरण व्यवस्था मिलाइएको छ । यात्राका क्रममा यात्रुहरूले भोग्नुपर्ने विभिन्न समस्या भाडादरसम्बन्धी मनपरी, ठगी तथा दुव्र्यवहार नियन्त्रण गर्न जिल्लाका प्रमुख चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट र स्थानीय सुरक्षा निकायको संयुक्त पहलमा जिल्लाका प्रमुख यातायात केन्द्र मानिने चपुर चौक, गौर, गरुडा र वंकुलमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
लामो दूरीका यात्रा गर्ने यात्रुहरूको थकान र स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको अगाडि रिफ्रेस सेन्टर सञ्चालन गरिएको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए । उक्त रिफ्रेस सेन्टरमा यात्राका क्रममा यात्रुहरूका लागि सुस्ताउने ठाउँका साथै शुद्ध खानेपानी र सफा शौचालयको निःशुल्क सुविधा उपलब्ध गराइएको छ । राजमार्गमा सवारी चालकहरूको थकानका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई यात्राका क्रममा ताजा महसुस गराउन यो कदम फलदायी हुने अपेक्षा गरिएको छ ।
तोकिएको भन्दा बढी भाडा असुल्ने, फर्जी टिकट बिक्री गर्ने वा सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी साधनमाथि तत्काल कारबाही तथा निगरानी गर्ने, यात्राका क्रममा यात्रुमाथि हुने दुव्र्यवहार, बिचौलियाको ठगी तथा अनधिकृत सास्ती नियन्त्रण गर्ने, यात्राका क्रममा सवारी साधनमा सामान छुटेको वा हराएको खण्डमा खोजतलासका लागि तत्काल समन्वय गर्ने पनि बताइएको छ ।
यस्तै कुनै पनि प्रकारको दुर्घटना, सुरक्षा जोखिम वा स्वास्थ्य समस्या परेमा सुरक्षाकर्मी परिचालन गरी तत्काल उद्धार र सहजीकरण गर्ने र चाडपर्वका बेला सडक सुरक्षालाई चुस्त दुरुस्त बनाउन प्रहरी तथा ट्राफिक प्रहरीको टोली चौबीसै घण्टा खटिनेछन् । यात्राका क्रममा कुनै पनि किसिमको समस्या वा ठगीमा परेमा ढिलाइ नगरी नजिकको प्रहरी कार्यालय, यात्रु सहायता कक्ष वा नेपाल प्रहरीको टोल फ्री नम्बर १०० तथा ट्राफिक प्रहरीको टोल फ्री नम्बर १०३ मा तुरुन्त सम्पर्क गर्न जिल्ला प्रहरी तथा ट्राफिक कार्यालयले सर्वसाधारण यात्रु, चालक र व्यवसायीहरूमा अनुरोध गरेको छ ।