२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

Nada
२०८३ असोज २४ गते १४:३४
Shares
नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ (चितवन) : यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका-१ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध भने सुरक्षित रहेको छ । नदीको बाढी किनार हुँदै सडकसम्म आइपुग्दा पनि तटबन्धमा ठूलो क्षति पुगेको छैन ।

ncell

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नारायणी पुलको उत्तरतर्फ ६४० मिटर लामो उक्त तटबन्ध विसं २०७९ पुस ५ गते निर्माण सुरु गरी विसं २०८० जेठ १९ गते सम्पन्न गरिएको थियो । उनका अनुसार नारायणी नदी किनारको चौरलाई कायम राख्दै नदी कटान रोक्ने र किनारलाई आकर्षक बनाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको थियो ।

तटबन्ध निर्माण गरिएको क्षेत्र सुरक्षित रहे पनि माथिल्लो चौरमा बाढीले बालुवा र ढुंगा थुपारेर बगरमा परिणत गरेको इन्जिनियर पौडेलले बताए । “बगर बनेपछि उक्त क्षेत्रमा जानसमेत कठिन भएको छ । यद्यपि तटबन्धको माथिल्लो भागमा रहेको करिडोरमा अहिले पनि मानिसहरू टहलिने र ठेलामा व्यापार गर्नेहरूको चहलपहल देखिन्छ”, उनले भने ।

सूचना अधिकारी पौडेलले नारायणी नदीको धारलाई हाल कायम रहेको दिशामा नियन्त्रण तथा स्थिर राख्न तटबन्धले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनका अनुसार तटबन्धका कारण नदीको बहाव परिवर्तन भई नारायणगढ बजारतर्फ केन्द्रित हुनबाट रोकिएको छ । यसले नारायणगढ बजार तथा आसपासका बस्ती, भौतिक संरचना र जग्गालाई नदी कटान तथा बाढीजन्य जोखिमबाट संरक्षण गर्न योगदान पुर्‍याएको छ ।

इन्जिनियर पौडेलले भने, “सी बिच ढाँचाको तटबन्ध नभएको भए यो क्षेत्र पूरै बगरमा परिणत हुन सक्थ्यो । तटबन्धका कारण किनारको चौरमा माटो भर्न र सम्याउन पनि सहज हुने भएको छ ।” उनका अनुसार उक्त तटबन्ध निर्माण नभएको भए नारायणी नदीले आफ्नो धार परिवर्तन गरी चितवनतर्फ, विशेषगरी नारायणगढ बजार आसपासको क्षेत्रमा कटान तथा बाढीको जोखिम सिर्जना गर्न सक्ने सम्भावना थियो । तटबन्धले नदीको धार नियन्त्रण गर्नुका साथै मानव बस्ती, बजार क्षेत्र, सडक, पूर्वाधार र अन्य सम्पत्तिलाई नदीजन्य कटानबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।

नारायणी नदी किनारमा निर्माण गरिएको ‘सी बिच’ क्षेत्रमा विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन् । बिहान र साँझ नदी किनारमा घुम्न तथा टहलिन जाने सर्वसाधारणको चहलपहल हुने गर्दछ । साना ठेला तथा व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ ।

कार्यालयका अनुसार ‘नारायणी रिभर बिच प्रोटेक्सन वक्र्: आयोजनाअन्तर्गत रु १७ करोड ५९ लाख खर्चमा संरचना निर्माण गरिएको हो । आयोजनाअन्तर्गत आरसीसीका सिँढी निर्माण गर्नुका साथै अगाडिको भागमा ठूला ढुंगा प्रयोग गरी किनार संरक्षणको काम गरिएको सूचना अधिकारी पौडेलले बताए। उनका अनुसार नारायणी पुलदेखि पश्चिमतर्फ चितवन क्षेत्रमा अधिकांश स्थानमा तटबन्ध निर्माण गरिएकाले यस वर्षको बाढीबाट ठूलो क्षति हुन पाएन ।

ताजा खबर

सम्बन्धित खबर