
काठमाडौं : काठमाडौंको बीच भागमा रहेको एउटा चौरलाई सामान्य अर्थमा ‘खुलामञ्च’ भन्न सकिन्छ । तर नेपाली राजनीतिक इतिहासमा यसको अर्थ एउटा चौरभन्दा धेरै ठुलो छ । यो त्यस्तो सार्वजनिक ठाउँ हो, जहाँ राजनीतिक आकांक्षा, असहमति, आन्दोलन र उत्सवहरू एकपछि अर्को गर्दै अभिव्यक्त भएका छन् ।
पञ्चायतविरुद्धका आवाजदेखि बहुदलीय व्यवस्थाको पक्षमा यही सभा भए । २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको विजयसभा होस् २०६२/६३ को जनआन्दोलनपछि मनाइएको लोकतन्त्रको उत्सव । गणतन्त्र स्थापनापछिका विभिन्न राजनीतिक तथा नागरिक अभियानसम्म खुलामञ्च नेपाली सार्वजनिक जीवनको साक्षी रह्यो । यहाँ सत्तापक्षले पनि बोलेको छ, विपक्षीले पनि ।
राजनीतिक दलहरूले आफ्ना मुद्दा राखेका छन्, नागरिकहरूले आफ्ना माग सुनाएका छन् । खुलामञ्चको इतिहास राजनीतिक दलहरूको मात्र इतिहास होइन, सार्वजनिक रूपमा आफ्नो आवाज राख्न खोज्ने नागरिकहरूको इतिहास पनि हो ।
तर लोकतन्त्रका लागि आवाज उठाउने यही सार्वजनिक ठाउँ २०७२ सालको भूकम्पको चपेटामा पर्यो । भूकम्पपछि सुरु भएको पुनर्निर्माणका काम, वीर अस्पताल र दरबार हाईस्कुलका निर्माण सामग्री, अस्थायी बसपार्क, व्यापारिक सटर निर्माणको विवाद, पार्किङको प्रस्ताव र विभिन्न संरचनात्मक योजनाको चपेटामा पर्दै खुलामञ्च लामो समय सर्वसाधारणका लागि बन्दजस्तै रह्यो । एक समय जहाँ हजारौं मानिस जम्मा भएर राज्यसँग प्रश्न गर्थे, त्यही ठाउँमा बसका लाइन लागे, निर्माण सामग्री थुप्रिए ।
खुलामञ्चलाई फेरि खुला गराउन नागरिक र सम्पदा अभियन्ताहरूले आन्दोलन नै गर्नुपर्यो । ‘खुलामञ्च खुला गर’ अभियानदेखि ‘अकुपाई टुँडिखेल’सम्मका अभियानले सार्वजनिक ठाउँमाथिको अतिक्रमणविरुद्ध आवाज उठाए । मानवसाङ्लो बनाएर टुँडिखेल जोगाउने अभियान चलाइयो, व्यापारिक सटर हटाउन दबाब दिइयो र अस्थायी बसपार्क हटाउन माग गरियो ।
लामो समय सर्वसाधारणका लागि बन्दजस्तै रहेको खुलामञ्च १० माघ २०८२ मा काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्णयबाट पुनः खुला गरियो । खुलामञ्च पुनः खुला भएपछि पहिलो कार्यक्रम कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले गरेको थियो ।
पहिला–पहिला निःशुल्क प्रयोग हुँदै आएको खुलामञ्च अहिले सशुल्क बनाइएको छ । कुनै कार्यक्रम, सभा, सम्मलेन गर्न २५ हजार धरौटी राख्नुपर्ने व्यवस्था काठमाडौं महानगरले गरेको छ । धरौटी बाहेक एक दिनको १० हजार र आधा दिनको पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । २०५४ सालको स्थानीय निर्वाचनबाट मेयरमा निर्वाचित केशव स्थापितको पहिलो कार्यकालमा खुलामञ्च महानगरपालिकाको मातहतमा आएको थियो ।
अहिले नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन यही खुलामञ्चमा भयो । महाधिवेशनको उद्घाटनका लागि कांग्रेसले खुलामञ्च रोजेपछि यो ठाउँ फेरि चर्चामा आयो । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा खुलामञ्चबारे गरेको टिप्पणीले अझ चर्चा पायो । उनले खुलामञ्च राम्रो बनाइएको र नयाँ पार्टीले त्यहाँ कार्यक्रम गरेर सरकारको आलोचना गर्न पाएको आशयको टिप्पणी गरे ।
टुँडिखेलको एउटा टुक्रा
आजको खुलामञ्चलाई बुझ्न टुँडिखेलको इतिहासतिर फर्किनुपर्छ । कुनै समय काठमाडौंको विशाल टुँडिखेल अहिलेको भन्दा धेरै ठुलो थियो । रानीपोखरीदेखि दक्षिणतर्फ फैलिएको यो खुला क्षेत्र सैनिक अभ्यास, सार्वजनिक समारोह, परेड र राज्यका महत्त्वपूर्ण गतिविधिको केन्द्र थियो । समयक्रममा सडक, रंगशाला, रत्नपार्क र अन्य संरचना थपिँदै जाँदा विशाल टुँडिखेल टुक्रिँदै गयो । त्यसै क्रममा यसको उत्तरी भाग अहिले हामीले चिन्ने खुलामञ्चका रूपमा विकसित भयो ।
खुलामञ्च कहिले औपचारिक रूपमा बन्यो भन्ने प्रश्नको उत्तरमा पूर्ण एकरूपता छैन । केही अध्ययनले राजा महेन्द्रको समयमा सन् १९७३ तिर खुला रंगमञ्चको स्वरूप विकसित भएको उल्लेख गर्छन् भने नेपाली स्रोतहरूमा वि.सं. २०३२ अर्थात् सन् १९७५/७६ तिर यहाँ मञ्चको संरचना बनेपछि यसले ‘खुलामञ्च’को परिचय पाएको देखिन्छ ।
खुलामञ्चको राजनीतिक इतिहास पञ्चायतकालसँग जोडिन्छ । २०३६ सालको आन्दोलन र त्यसपछि भएको जनमतसंग्रहको समयमा राजनीतिक गतिविधिमा आएको सीमित खुलापनले सार्वजनिक सभाका लागि नयाँ ठाउँहरू खोज्यो । त्यही क्रममा खुलामञ्चको राजनीतिक महत्त्व बढ्दै गयो ।
नेपाली कांग्रेसका नेता बिपी कोइरालाले पनि यही मञ्चबाट बहुदलीय व्यवस्थाको पक्षमा सम्बोधन गरेका थिए । पञ्चायती व्यवस्थाको राजनीतिक नियन्त्रणबीच बहुदलको पक्षमा सार्वजनिक रूपमा बोल्ने त्यो समय आफैंमा महत्त्वपूर्ण थियो । खुलामञ्च त्यहीँबाट बिस्तारै सरकारको औपचारिक कार्यक्रम हुने ठाउँभन्दा बढी असहमति व्यक्त गर्ने सार्वजनिक स्थलका रूपमा स्थापित हुन थाल्यो ।
खुलामञ्चको विशेषता कुनै एउटा दलको कब्जामा रहनु थिएन । पञ्चायत समर्थकले पनि प्रयोग गरे, बहुदल समर्थकले पनि । तर समयक्रममा यसको पहिचान परिवर्तनको पक्षमा उभिने राजनीतिक शक्तिहरूसँग बढी जोडिँदै गयो । सार्वजनिक ठाउँमा बोल्न पाउने अधिकार आफैंमा राजनीतिक अधिकारको एउटा रूप थियो, र खुलामञ्चले त्यसको अभ्यास गर्ने अवसर दियो ।
२०४६ सालको जनआन्दोलनले खुलामञ्चलाई नेपाली राजनीतिक इतिहासको एउटा निर्णायक स्थान बनाइदियो । पञ्चायती व्यवस्था अन्त्य भएपछि चैत २७ गते खुलामञ्चमा भएको विशाल विजयसभामा आन्दोलनका प्रमुख नेताहरू उपस्थित भए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत नेताले त्यहीँबाट जनतालाई सम्बोधन गरे ।
२०६२/६३ को जनआन्दोलनमा खुलामञ्चको भूमिका दोहोरियो । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको आन्दोलन उत्कर्षमा पुगेपछि काठमाडौंका सडक र सार्वजनिक स्थलहरू प्रदर्शनका केन्द्र बने । प्रतिनिधिसभा पुनःस्थापना भएपछि खुलामञ्चमा ठुलो जनसभा भयो । राजतन्त्रबाट गणतन्त्रतर्फ जाने यात्रामा खुलामञ्च नेपाली राजनीतिको परिचित सार्वजनिक मञ्च बनिसकेको थियो ।
त्यसपछि तत्कालीन माओवादीसहित विभिन्न राजनीतिक दल र समूहले पनि खुलामञ्च प्रयोग गरे । संविधान निर्माणका क्रममा विभिन्न समूहले आफ्ना माग राखे । पहिचानसहितको संघीयता, रोजगारी, सामाजिक न्याय, क्षेत्रीय अधिकारलगायत विषयमा सभा र प्रदर्शन भए । मधेश आन्दोलनबाट आएका राजनीतिक शक्तिदेखि बेरोजगारीको विरोधमा सडकमा उत्रिएका युवासम्मले खुलामञ्चलाई आफ्नो आवाज सुनाउने ठाउँ बनाए ।
पूर्वमन्त्री भीमसेनदास प्रधान खुलामञ्चको इतिहास र यसको सांस्कृतिक तथा राजनीतिक महत्त्व बुझ्न आवश्यक रहेको बताउँछन् । ‘राजा महेन्द्रले खुलामञ्च निर्माण गरेपछि त्यहाँ बेला–बेलामा पञ्चायतका कार्यक्रम आयोजना हुने गर्थे । पछि यही ठाउँ राजनीतिक आन्दोलनका महत्त्वपूर्ण गतिविधिको केन्द्र बन्यो’, उनी भन्छन्, ‘२०३७ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को संयुक्त जनआन्दोलनजस्ता ठुला आमसभा खुलामञ्चमा भएका थिए ।’
खुलामञ्चलाई जनआन्दोलनको उद्गमस्थलका रूपमा समेत लिइने गरेको प्रधान बताउँछन् । ‘२०३६ सालमा विश्वेश्वरप्रसाद कोइरालाले पहिलोपटक खुलामञ्चबाट भाषण गरेका थिए, त्यसपछि सबैजसो नेताले यही ठाउँबाट भाषण गर्न थाले, स्वर्गीय मदन भण्डारीले पनि यही ठाउँबाट भाषण गरेपछि राजनीतिक चर्चा कमाएका थिए,’ उनले भने ।
तर पछिल्लो समय टुँडिखेल आसपास ठुला संरचना थपिँदै गएपछि यसको पुरानो स्वरूपमा परिवर्तन आएको उनको भनाइ छ । ‘ठुलाठुला संरचना बनेपछि अहिले धुवाँ र धुलो मात्र आउने गरेको छ,’ प्रधान भन्छन् ।
भूकम्पपछिको खुलामञ्च
२०७२ सालको भूकम्पपछि खुलामञ्च बिस्तारै सर्वसाधारणका लागि बन्दजस्तै हुँदै गयो । पुनर्निर्माणका नाममा विभिन्न संरचना र निर्माण सामग्री यहाँ राखिए । वीर अस्पतालको पुनर्निर्माणका सामग्री राख्ने ठाउँ पनि बन्यो । दरबार हाईस्कुल पुनर्निर्माणका सामग्री पनि यही क्षेत्रमा थुपारिए ।
त्यतिबेला काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गर्ने योजना अघि बढिरहेको थियो । बसपार्क हटाउनुपर्ने भएपछि खुलामञ्चको ठुलो भाग अस्थायी बसपार्कका रूपमा प्रयोग गर्ने निर्णय भयो । २०७३ वैशाखदेखि बसहरू खुलामञ्चमा आउन थाले । ‘अस्थायी’ भनिएको त्यो व्यवस्था भने लामो समयसम्म चल्यो ।
राजनीतिक भाषण र नागरिक सभाले भरिने ठाउँ बसपार्कमा परिणत भयो । खुलामञ्चको एउटा ठुलो भाग सवारी साधनको आवागमन र पार्किङमा प्रयोग हुन थाल्यो । सार्वजनिक राजनीतिक मञ्च विस्तारै सार्वजनिक यातायातको अस्थायी पूर्वाधार बन्यो । खुलामञ्चमाथिको सबैभन्दा ठुलो नागरिक आक्रोश २०७६ सालमा देखियो । खुलामञ्चको उत्तरतिर व्यापारिक सटर निर्माण भइरहेको विषय सार्वजनिक भएपछि काठमाडौंमा त्यसको चर्को विरोध भयो ।
सार्वजनिक खुला ठाउँमा व्यापारिक संरचना बनाउन खोजिएको भन्दै सम्पदा अभियन्ता, स्थानीय बासिन्दा र नागरिक समाजका विभिन्न व्यक्तिले विरोध गरे । खुलामञ्चको महत्त्व समाप्त पार्न खोजिएको उनीहरूको आरोप थियो । त्यतिबेला काठमाडौं महानगरपालिकाभित्रै पनि यस विषयले विवाद जन्मायो । छानबिन समिति बन्यो । दबाब बढ्दै गएपछि बनाइएका सटर तथा संरचना हटाउने प्रक्रिया अघि बढ्यो ।
‘अकुपाई टुँडिखेल’ अभियान
खुलामञ्चको अतिक्रमणविरुद्धको संघर्ष त्यहीँ रोकिएन । टुँडिखेलको ऐतिहासिक क्षेत्र निरन्तर साँघुरिँदै गएको भन्दै नागरिक अभियन्ताहरूले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु गरे ।
२०७६ सालमा काठमाडौंका महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा स्थायी बसपार्क बनाउने योजनासहित ढलान गर्न खोजेका थिए । लगत्तै त्यसको विरोधमा मानवसाङ्लो बनाइयो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, हिसिला यमी, गगन थापा, भीमसेनदास प्रधान, काठमाडौं महानगरकी तत्कालीन उपप्रमुख हरिप्रभा खड्गीलगायत विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्व अभियानमा सहभागी भए । कलाकार, बुद्धिजीवी, सम्पदा अभियन्ता र सर्वसाधारण पनि अभियानसँग जोडिए ।
अभियानको मूल माग स्पष्ट थियो–काठमाडौंका ऐतिहासिक खुला क्षेत्र जोगाउनुपर्छ । टुँडिखेल र खुलामञ्चलाई व्यापारिक, पार्किङ वा अन्य स्थायी संरचनाले साँघुरो बनाउन हुँदैन । सार्वजनिक खुला ठाउँ केवल मनोरञ्जनका लागि होइन, सहरको वातावरण, नागरिक जीवन र विपद् व्यवस्थापनका लागिसमेत आवश्यक हुन्छ ।
नागरिक दबाब र अन्य कारणले अन्ततः खुलामञ्चबाट अस्थायी बसपार्क हटाउने निर्णय भयो । २०७७ फागुनमा बसपार्क हटाउने प्रक्रिया अघि बढ्यो र २०७८ वैशाखदेखि खुलामञ्चमा सवारी साधन प्रवेश रोकियो । तर त्यसपछि पनि खुलामञ्च तत्कालै जनताका लागि खुला भएन । निर्माण सामग्री, माटो, हिलो, पानी जम्ने समस्या, झारपात र अन्य व्यवस्थापनका कारण खुलामञ्च लामो समय प्रयोगविहीनजस्तै रह्यो ।
२०७९ सालको स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकाको नेतृत्व बालेन्द्र शाहले सम्हाले । महानगरले खुलामञ्चमा भूमिगत पार्किङ र फुटबल ग्राउन्ड बनाउने सम्भावनासमेत अघि सारेको थियो । त्यसको चौतर्फी विरोध भयो । सार्वजनिक खुला ठाउँको मुनि पार्किङ बनाएर यसको मूल चरित्र बिगार्न नहुने अभियन्ताको तर्क थियो । ‘अकुपाई टुँडिखेल’ अभियानसँग जोडिएका नागरिक अभियन्ताले पनि यस विषयमा खबरदारी गरे ।
महानगर प्रमुख हुँदा आफैंले अतिक्रमण गर्न खोजेको खुलामञ्च अहिले मैले बनाएको भनेर प्रधानमन्त्रीले गलत प्रचार गरेको काठमाडौं महानगरकी तत्कालीन उपप्रमुख हरिप्रभा खड्गी बताउँछिन् । ‘विद्यासुन्दर शाक्य मेयर हुँदा खुलामञ्चलाई बसपार्क बनाउने योजना अघि बढाउनुभएको थियो । म त्यतिबेला उपप्रमुख थिएँ । तत्कालीन सांसद भीमसेनदास प्रधानसहित मिलेर त्यसको पनि विरोध गरेका थियौं,’ उनले भनिन् ।
‘विद्यासुन्दर शाक्यले बस पार्क बनाउने र त्यसपछि वालेन्द्र शाहले भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाउनुभएको थियो,’ उनी भन्छिन्, ‘यसको हामीले विरोध गर्यौं । खुलामञ्चको ऐतिहासिक महत्त्व र सभ्यतामाथि आँच आउन नदिन धेरै अभियन्ताको भूमिका छ ।’ खुलामञ्चको आफ्नै इतिहास भएकाले यसलाई कोही व्यक्तिविशेषले बनाएको भनेर बुझ्न नहुने उनको तर्क छ ।
२०७९ सालमा मिटरब्याज पीडितहरू काठमाडौं आएर खुलामञ्चमा बस्न खोज्दा महानगर प्रहरीले प्रवेशमा रोक लगाएपछि सार्वजनिक ठाउँ नागरिक आन्दोलनका लागि खुला हुनुपर्छ कि निश्चित नियमभित्र मात्र प्रयोग गर्न दिनुपर्छ भन्ने विषय उठ्यो । महानगरले लामो समय बस्दा खुलामञ्च ‘कब्जा’ हुन सक्ने तर्क गरेको थियो भने अभियन्ताले सार्वजनिक मञ्चको चरित्रमै प्रश्न उठाएका थिए ।
पछिल्लो चरणमा काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई व्यवस्थित बनाउने काम अघि बढायो । घाँस लगाउने, पैदल हिँड्ने बाटो बनाउने, प्रवेशद्वार तथा अन्य पूर्वाधार सुधार गर्ने काम भए । लामो समय धुलो र निर्माण सामग्रीले भरिएको ठाउँ विस्तारै हरियाली देखिन थाल्यो । महानगरले गरेको भौतिक सुधारका कारण खुलामञ्चको स्वरूपमा परिवर्तन आयो ।
कांग्रेसको महाधिवेशन र बालेनको टिप्पणी
यही पृष्ठभूमिमा नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन खुलामञ्चमा भयो । कांग्रेसका लागि यो ठाउँ रोज्नुको राजनीतिक अर्थ पनि छ । नेपाली कांग्रेसका नेताहरूले खुलामञ्चको इतिहास २०४६ सालको जनआन्दोलन, २०६२/६३ को आन्दोलन र नेपालको लोकतान्त्रिक संघर्षसँग जोडिएको बताउँदै आएका छन् । कांग्रेस सभापति गगन थापाले पनि महाधिवेशनका लागि खुलामञ्च रोजिनुको पछाडि यसको राजनीतिक इतिहास रहेको बताएका छन् ।
कांग्रेसका लागि खुलामञ्चमा महाधिवेशन गर्नु आफ्नो पार्टीको इतिहासलाई लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोड्ने एउटा प्रतीकात्मक अवसर भएको उनको भनाइ थियो । यो त्यही मञ्च हो जहाँ, बिपी कोइरालाले २०३६ सालमा पहिलोपटक भाषण गरेका थिए । बिपीको स्मृति जोडिएकाले पनि कांग्रेसका लागि यो विशेष ठाउँ भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
कांग्रेसको महाधिवेशन उद्घाटनपछि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीले खुलामञ्चको राजनीतिक चर्चा अझ बढायो । उनले खुलामञ्च राम्रो बनाइएको र नयाँ पार्टीले त्यहाँ कार्यक्रम गरेर आलोचना गर्न पाएको आशय व्यक्त गरे ।
त्यसपछि खुलामञ्च पुनः व्यवस्थित हुनुको श्रेय कसलाई जाने ? भन्ने विषयमा तर्कवितर्क हुन थाले । महानगरको पछिल्लो नेतृत्वले खुलामञ्चको भौतिक सुधारमा काम गरेको तथ्य अस्वीकार गर्न नमिल्ने सरोकारवालाहरू बताउँछन् । तर खुलामञ्चको इतिहास दशकौं पुरानो छ । यसलाई अतिक्रमणबाट जोगाउन नागरिक अभियन्ताले आन्दोलन गरेका थिए । सटर हटाउन दबाब दिएका थिए । बसपार्क हटाउन माग गरेका थिए । ‘अकुपाई टुँडिखेल’ अभियान चलाएका थिए । त्यसैले खुलामञ्च फेरि खुला हुनु कुनै एक व्यक्ति, एक दल वा एक सरकारको मात्र उपलब्धिका रूपमा बुझ्दा यसको लामो इतिहास छुट्न सक्ने विज्ञहरूको तर्क छ ।
असहमति र विपत्तिमा सम्झिने ठाउँ
खुलामञ्चको इतिहासमा पटक–पटक एउटै कुरा दोहोरिएको देखिन्छ । जब समाजमा राजनीतिक असन्तुष्टि बढ्छ, मानिसलाई आफ्नो आवाज सार्वजनिक गर्ने ठाउँ चाहिन्छ । जब राज्यसँग नागरिकको असहमति हुन्छ, सडक र सार्वजनिक स्थल लोकतान्त्रिक संवादको माध्यम बन्छन् । जब विपत्ति आउँछ, खुला ठाउँ आश्रय बन्छ । जब सार्वजनिक ठाउँमाथि अतिक्रमण हुन्छ, नागरिक त्यसको संरक्षणका लागि सडकमा उत्रिन्छन् ।
पञ्चायतमा बहुदलको आवाजदेखि २०४६ को विजयसभासम्म, २०६२/६३ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्रपछिका राजनीतिक सभा र नागरिक अभियानसम्म खुलामञ्चले समयका अनेक आवाज सुनेको छ । कहिले सत्ता पक्षको आवाज सुन्यो, कहिले विपक्षीको । कहिले नेताहरूको भाषण सुन्यो, कहिले आफ्ना माग बोकेर आएका सामान्य नागरिकको । यही कारण खुलामञ्च कुनै एउटा दलको इतिहास होइन ।
यहाँ प्रश्नहरू फेरि जन्मिन्छन् – यसलाई फेरि कुनै अस्थायी प्रयोजनका नाममा बन्द गरिन्छ कि गरिँदैन ? यसको सार्वजनिक क्षेत्र फेरि व्यापारिक संरचनाले घेरिन्छ कि घेरिँदैन ? पार्किङ, बसपार्क वा अन्य पूर्वाधारको दबाब फेरि आउँछ कि आउँदैन ? राजनीतिक दल र नागरिक समूहलाई प्रयोगमा समान नियम लागू हुन्छ कि हुँदैन ? विपद्का बेला प्रयोग गर्न पर्याप्त खुला राखिन्छ कि राखिँदैन ? यी प्रश्नको उत्तरले नै खुलामञ्चको भविष्य निर्धारण गर्नेछ ।