२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

जिम्मेवार नबने शाखा कार्यालयको अनुमति रद्द गर्ने विभागको चेतावनी

Nada
२०८३ असोज १८ गते ०६:१५
Shares
जिम्मेवार नबने शाखा कार्यालयको अनुमति रद्द गर्ने विभागको चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले शाखा कार्यालयलाई जिम्मेवार बनाउन म्यानपावर कम्पनीहरूलाई निर्देशन दिँदै जिम्मेवार नबनाउनेको अनुमति रद्द गर्ने चेतावनी दिएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै शाखा कार्यालयबाट भएका काम कारबाहीको जिम्मेवारी मुख्य कार्यालयले पूर्णरूपमा लिनुपर्ने बताएको हो ।

ncell

विभागबाट अनुमति लिएका म्यानपावर कम्पनीका केही शाखा कार्यालयमा वैदेशिक रोजगारीमा जानका लागि आवेदन दिएका व्यक्तिले आफ्नो आवेदनको अवस्था, आवश्यक कागजात, रोजगारदाता, रोजगारीको अवस्था, भिसा, रोजगार सम्झौता, श्रम स्वीकृति, प्रस्थानको तयारी तथा अन्य सम्बन्धित विषयमा जानकारी माग्दा स्पष्ट तथा यथार्थ सूचना उपलब्ध नगराएको विभागको भनाइ छ । शाखा कार्यालयहरूले सेवाग्राहीलाई ‘हामीलाई थाहा छैन’, ‘काठमाडौंमा मुख्य कार्यालयमा सम्पर्क गर्नुहोस्’ लगायतका जवाफ दिने गरेको विभागले बताएको छ ।

शाखा कार्यालयहरूको उक्त व्यवहारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आफ्नो आवेदन तथा वैदेशिक रोजगारसम्बन्धी प्रक्रियाको जानकारी लिन पटक–पटक मुख्य कार्यालय काठमाडौंमा धाउनुपर्ने अवस्था सिर्जना भएको भन्ने गुनासो बढेको विभागले बताएको छ ।

त्यसैगरी, विभागले शाखा कार्यालयहरूले आफ्नो कार्यालयमार्फत वैदेशिक रोजगारीमा पठाउनका लागि प्रक्रिया सुरु गरेका व्यक्तिहरूलाई लामो समयसम्म पनि वैदेशिक रोजगारीमा नपठाएको विषयमा सम्बन्धित इजाजतप्राप्त संस्थाको मुख्य कार्यालयमा गुनासो गर्दा केही म्यानपावर कम्पनीले शाखा कार्यालय तथा शाखाका कर्मचारीहरूबाट भएका काम कारबाहीको जिम्मेवारी नलिने भनी गैरजिम्मेवारीपूर्ण जवाफ दिएको भनी गुनासो प्राप्त भएको बताएको छ ।

जिम्मेवारी नलिने अवस्था कायम रहेमा वैदेशिक रोजगारका लागि आवेदन दिने श्रमिक तथा सेवाग्राहीको इजाजतपत्र प्राप्त संस्थाप्रतिको विश्वास घट्ने तथा वैदेशिक रोजगार प्रक्रियाको पारदर्शिता र जवाफदेहितामा प्रतिकूल असर पर्ने भन्दै विभागले सेवाग्राहीलाई आवश्यक सूचना नदिने, गलत वा अपूर्ण सूचना दिने, आवेदनको अवस्थाबारे जानकारी नदिने, अनावश्यक रूपमा दुःख वा हैरानी दिने कार्य नगर्न भनेको छ ।

शाखा कार्यालयहरूबाट प्रदान गर्नुपर्ने सेवाबाट पन्छिने वा सहजीकरण नगरे वा वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई झुटो आश्वासन दिएमा सोको जिम्मेवारी सम्बन्धित इजाजतपत्रवालाले लिनुपर्ने भन्दै विभागले चेतावनी शैलीमा भनेको छ, ‘शाखा कार्यालयहरूले वैदेशिक रोजगारीमा जान खोजेका व्यक्तिले माग गरेको सूचना समयमै उपलब्ध गराउने व्यवस्था गर्नसमेत सूचित गरिन्छ ।’

सेवाग्राहीलाई सहजीकरण नभएमा शाखा कार्यालयको अनुमति रद्द गर्ने तथा वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

विभागले अवैध एजेन्ट अर्थात् दलालहरूको झुटा आश्वासनबाट वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न जिल्लामा राखेका एजेन्ट खारेज गरी म्यानपावर कम्पनीहरूलाई शाखा विस्तारको अनुमति दिएको हो । तर, केही म्यानपावर कम्पनीले खारेज भएका एजेन्टलाई निश्चित रकम लिएर शाखा सञ्चालन गर्न सहमति दिने गरेको गुनासो पनि बढेको छ ।

शाखा कार्यालयमाथि विभाग र स्थानीय जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्न सक्ने भए पनि अनुगमन नहुँदा कतिपय म्यानपावर कम्पनीका शाखा केवल ठगी गर्ने माध्यम बनेको गुनासो बढेको छ ।

सम्बन्धित खबर