
मलेसिया : मलेसियामा अवैधानिक हैसियतमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्किने क्रममा ट्राभल डकुमेन्ट बनाउन र अध्यागमनमा जरिवाना तिर्न बिचौलिया वा एजेन्टको प्रयोग नगर्न नेपाली राजदूतावास क्वालालम्पुरले आग्रह गरेको छ ।
स्वदेश फर्किने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै केही बिचौलियाले रकम असुल्ने गरेको गुनासो आउन थालेपछि दूतावासले श्रमिकलाई सम्भावित ठगीबाट जोगिन सचेत गराएको हो ।
दूतावासले अवैधानिक हैसियतमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्किन आवश्यक प्रक्रियाबारे आधिकारिक निकायबाट प्रत्यक्ष रूपमा जानकारी लिन आग्रह गरेको छ। ट्राभल डकुमेन्ट बनाउन तथा मलेसियाको अध्यागमन विभागमा आवश्यक जरिवाना तिर्न एजेन्ट अनिवार्य नरहेको दूतावासले जनाएको छ ।
मलेसिया सरकारले अवैधानिक हैसियतमा रहेका विदेशी कामदारलाई स्वदेश फिर्ता कार्यक्रम सञ्चालन गरिरहेका बेला बिचौलियामार्फत ठगी हुन सक्ने र त्यससम्बन्धी केही गुनासा आएपछि दूतावासले श्रमिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।
नेपाली श्रमिकलाई विभिन्न विषयमा आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउने उद्देश्यले नेपाली राजदूतावास क्वालालम्पुरले हरेक शुक्रबार डेढ घण्टाको फेसबुक लाइभ कार्यक्रम सञ्चालन गर्दै आएको छ । फेसबुक लाइभमार्फत श्रमिकलाई आवश्यक सूचना तथा जानकारी प्रवाह गरिँदै आएको छ ।
कार्यक्रममार्फत श्रमिकका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्ने, आवश्यक जानकारी दिने तथा सम्भव भएसम्म सम्बन्धित निकायसँग समन्वय गरी समाधानको पहल गर्ने गरिएको दूतावासले जनाएको छ ।
दूतावासले स्वदेश फर्किने प्रक्रियामा अन्योल भएमा अनधिकृत व्यक्ति वा एजेन्टको भर नपरी दूतावासबाटै आधिकारिक जानकारी लिन र अनावश्यक रकम नबुझाउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।