२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

मलेसियामा न्यूनतम परिश्रमिक बढाउने तयारी, कति बढ्ला ?

सूक्ष्म, साना तथा मझौला उद्यमलाई प्रस्तावित ज्याला वृद्धिबाट तत्काल छुट दिने तयारी

Nada
तिलोचन गौतम
२०८३ असोज १६ गते १५:२३
Shares
मलेसियामा न्यूनतम परिश्रमिक बढाउने तयारी, कति बढ्ला ?

क्वालालम्पुर : मलेसियामा न्यूनतम मासिक पारिश्रमिक१७ सय रिंगेटबाट बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा सरकारको समीक्षा जारी रहेका बेला सूक्ष्म, साना तथा मझौला उद्यमलाई प्रस्तावित ज्याला वृद्धिबाट तत्काल छुट दिने तयारी गरिएको छ ।

ncell

सरकारको यो निर्णयले मलेसियामा कार्यरत नेपालीसहित ठुलो संख्याका कामदारको तलबमा प्रत्यक्ष प्रभाव पर्न सक्ने देखिएको छ । विशेषगरी साना तथा मझौला कम्पनीमा कार्यरत कामदारले नयाँ न्यूनतम ज्यालाको लाभ पाउने वा नपाउने विषय चासोको बनेको मलेसियाली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

मलेसियाको तथ्यांक विभागका अनुसार सन् २०२५ मा सूक्ष्म, साना तथा मझौला उद्यम क्षेत्रमा ८० लाख ९० हजारभन्दा बढी मानिस कार्यरत थिए । यो देशको कुल श्रमशक्तिको ४८.७ प्रतिशत हो । त्यसैले सूक्ष्म, साना तथा मझौला उद्यमलाई नयाँ न्यूनतम ज्यालाबाट छुट दिइएमा ठुलो संख्यामा कामदार प्रस्तावित वृद्धिको प्रत्यक्ष लाभबाट बाहिरिन सक्छन् ।

हाल मलेसियामा न्यूनतम मासिक ज्याला १७ रिंगेट छ । यो दर अगस्ट २०२५ देखि लागू भएको हो । सरकारले अब यसलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा विचार गरिरहेको छ ।

प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले कम्पनीहरूले ठुलो नाफा कमाइरहँदा श्रमिकले १७ सय रिंगेट मात्र पाउने अवस्था उचित नभएको बताएका छन् ।

सूक्ष्म, साना तथा मझौला उद्यमलाई किन छुट ?

मन्त्रिपरिषद्ले सूक्ष्म, साना तथा मझौला उद्यमलाई तत्कालका लागि नयाँ न्यूनतम ज्याला वृद्धिबाट छुट दिने तयारी गरेको छ । यसको सट्टा सरकारले प्रगतिशील ज्याला नीति, ज्याला अनुदान, तालिम तथा उत्पादकत्व वृद्धि कार्यक्रममार्फत साना व्यवसायलाई सहयोग गर्ने उपाय अघि बढाउने बताइएको छ ।

अर्थशास्त्रीहरूले भने सूक्ष्म, साना तथा मझौला उद्यमलाई पूर्ण छुट दिनुभन्दा आर्थिक रूपमा कमजोर व्यवसायलाई लक्षित अनुदान तथा अन्य सहयोग उपलब्ध गराएर कामदारको ज्याला बढाउने बाटो अपनाउन सकिने सुझाव दिएका छन् ।

युओबीकी वरिष्ठ अर्थशास्त्री जुलिया गोहका अनुसार ज्याला वृद्धिबाट छुट पाएका कम्पनीमा काम गर्ने श्रमिकले राम्रो पारिश्रमिक खोज्दै अर्को रोजगारदाता रोज्न सक्छन् । यसले साना कम्पनीमा कामदार टिकाउन कठिनाइ तथा श्रम अभावको अवस्था सिर्जना गर्न सक्ने उनको भनाइ छ ।

युसिएसआई विश्वविद्यालयका डा. लियु ची योङले पनि लामो समयसम्म छुट कायम रहेमा ठूला र साना कम्पनीमा काम गर्ने श्रमिकबीचको ज्याला असमानता बढ्न सक्ने बताएका छन् ।

नेपाली कामदारका लागि के महत्वपूर्ण ?

मलेसियाका विभिन्न उत्पादन, सेवा, रेस्टुरेन्ट, निर्माण तथा अन्य क्षेत्रमा नेपाली कामदार कार्यरत छन् । त्यसैले सरकारले अन्तिम निर्णय गर्दा कुन कम्पनी र कुन श्रेणीका कामदारलाई नयाँ न्यूनतम ज्याला लागू गर्ने हो भन्ने विषय नेपाली कामदारका लागि महत्वपूर्ण हुनेछ ।

नेपाली कामदारले नयाँ नियम घोषणा भएपछि आफ्नो रोजगारदाता सूक्ष्म, साना तथा मझौला उद्यमअन्तर्गत पर्छ कि पर्दैन र आफूलाई नयाँ न्यूनतम ज्यालाको दर लागू हुन्छ कि हुँदैन भन्ने कुरा बुझ्नुपर्नेछ ।

सरकारको अन्तिम निर्णय नआएसम्म सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाका आधारमा रोजगारदाता परिवर्तन गर्ने वा अन्य निर्णय नगर्न कामदारलाई सुझाव दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर