२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

पिबी सिरियलका राहदानी र राष्ट्रिय परिचयपत्रका कारण भिसा र श्रम स्वीकृतिमा समस्या

Nada
२०८३ असोज १३ गते ०६:१५
Shares
पिबी सिरियलका राहदानी र राष्ट्रिय परिचयपत्रका कारण भिसा र श्रम स्वीकृतिमा समस्या

काठमाडौं : पिबी सिरियलका राहदानी र राष्ट्रिय परिचयपत्रका कारण वैदेशिक रोजगारीको भिसा र श्रम स्वीकृतिमा समस्या देखिएको व्यवसायीहरूले बताएका छन् ।

ncell

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समस्याबारे राहदानी विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले राहदानी विभागका महानिर्देशक दीपक विकलाई भेटी विभागबाट हाल जारी भइरहेका पिबी सिरियलका राहदानीका कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको भिसा आवेदनमा देखिएको समस्याबारे ध्यानाकर्षण गराएको हो । हाल जारी भइरहेका पिबी सिरियलका राहदानीमा मुख्यगरी प्रमुख श्रम गन्तव्य युएईको भिसा अस्वीकृत हुने क्रम अत्यधिक देखिएको छ ।

संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले युएईसहित विभिन्न देशको अध्यागमन प्रणालीमा पिबी सिरियलका राहदानीको विवरण अनलाइनमा नदेखिँदा भिसा आवेदन अस्वीकृत हुने समस्या देखिएको विषयमा तत्काल आवश्यक पहल गरी समाधान गर्न अनुरोध गरिएको बताए ।

जवाफमा महानिर्देशक विकले राहदानी विभागबाट आवश्यक प्राविधिक पहल गरी यथाशीघ्र समस्याको समाधान गर्ने जानकारी दिएको महासचिव डाँगीले बताए ।

यसैगरी, संघले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक श्रीकृष्ण पौडेलसँग समेत भेट गरी विभागबाट २०८२ साल चैतदेखि जारी भएका राष्ट्रिय परिचयपत्रका नम्बरहरू अनलाइन प्रणालीमा नदेखिने समस्याबारे ध्यानाकर्षण गराएको छ । उक्त समस्याका कारण वैदेशिक रोजगार विभागको फेमिसमा श्रमिकहरूको बायोमेट्रिक भेरिफिकेसन गर्न कठिनाइ हुनुका साथै अन्तिम श्रम स्वीकृति र अभिमुखीकरण प्रक्रियामा समेत समस्या देखिएको छ ।

महानिर्देशक पौडेलले राष्ट्रिय परिचयपत्रका डाटा विवरण अनलाइन सिस्टममा राख्ने कार्य भइरहेको हुँदा केही समय लाग्ने भएकाले त्यस समयावधिभित्र वैकल्पिक माध्यमबाट अभिमुखीकरण तालिम दिने व्यवस्था गर्न आग्रह गरेका छन् । उनले अन्तिम श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा सोमबार नै पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि महासचिव डाँगीले जानकारी दिए ।

सम्बन्धित खबर