
क्वालालम्पुर : मलेसियाले आगामी ६ महिनाभित्र करिब २ लाख बंगलादेशी कामदार लैजाने योजना अघि सारेको बंगलादेशी पक्षले जनाएको छ । कामदार भर्ती तथा पठाउने प्रक्रिया सेप्टेम्बरको अन्त्यदेखि चरणबद्ध रूपमा सुरु गर्ने तयारी रहेको बताइएको छ ।
बंगलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी राज्यमन्त्री मीर शाहे आलमले अगस्ट ३० मा मलेसियाले ६ महिनामा करिब २ लाख बंगलादेशी कामदार लैजाने जानकारी दिएका हुन् ।
मलेसियाले बंगलादेशका २५ वटा भर्ती एजेन्सीलाई प्रत्यक्ष रूपमा छनोट गरेको छ भने थप ३१२ एजेन्सीलाई सहायकका रूपमा काम गर्न अनुमति दिइएको छ । सरकारी संस्था बंगलादेश ओभरसिज इम्प्लोइमेन्ट एन्ड सर्भिस लिमिटेड समेत सहभागी हुने भएपछि भर्ती प्रक्रियामा संलग्न संस्थाको संख्या ३३८ पुगेको छ ।
यसैबीच १० हजार बंगलादेशी कामदारलाई शून्य लागतमा मलेसिया पठाउने कार्यक्रम पनि अघि बढाइएको छ । उक्त कार्यक्रमअन्तर्गत कामदारले हवाई टिकट तथा अन्य वैदेशिक रोजगारसम्बन्धी खर्च तिर्न नपर्ने बताइएको छ ।
बंगलादेशको सम्बन्धित मन्त्रालयले औपचारिक निर्देशन जारी नभएसम्म कामदारलाई कुनै रकम नतिर्न, मेडिकल परीक्षण नगर्न र पासपोर्ट नबुझाउन आग्रह गरेको छ ।
मलेसिया र बंगलादेशबीच लामो समयदेखि रोकिएको श्रमिक भर्ती प्रक्रिया पुनः सञ्चालन गर्ने विषयमा छलफल हुँदै आएको थियो । दुवै देशले भर्ती प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने, लागत घटाउने तथा बिचौलियाको भूमिका कम गर्ने विषयमा प्रतिबद्धता जनाएका छन् ।
बंगलादेशी पक्षका अनुसार कामदार पठाउने प्रक्रिया सेप्टेम्बरको अन्त्यदेखि सुरु गरी छ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।