२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

सिरहामा जडान गरिएका सिसिटिभी वर्षौंदेखि बन्द

Nada
मुकेश यादव
२०८३ असार ३२ गते २१:४३
Shares
सिरहामा जडान गरिएका सिसिटिभी वर्षौंदेखि बन्द

सिरहा : सिरहाको बरियारपट्टी क्षेत्रमा सुरक्षा सुदृढीकरणका लागि सशस्त्र प्रहरी बलले जडान गरेका सिसीटिभी  क्यामेरा वर्षौंदेखि बन्द अवस्थामा रहेको पाइएको छ । सीमावर्ती क्षेत्रमा जडान गरिएका क्यामेरा सञ्चालनमा नहुँदा स्थानीयस्तरको सुरक्षा निगरानी कमजोर बनेको भन्दै स्थानीयले तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गरेका छन् । 

ncell

बरियारपट्टी गाउँपालिका अन्तर्गत ठारही, बरियारपट्टी र इटाटार क्षेत्रमा जडान गरिएका सिसीटिभी क्यामेरा लामो समयदेखि बन्द रहेको स्थानीयवासीले बताएका छन् । सीमावर्ती क्षेत्र भएकाले चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि यस्ता प्रविधिको प्रभावकारी प्रयोग आवश्यक भए पनि उपकरण निष्क्रिय रहनु चिन्ताको विषय बनेको स्थानीय मनु यादवको भनाइ छ ।

स्थानीयका अनुसार केही वर्षअघि सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले क्यामेरा जडान गरेको थियो । तर, समयमै मर्मत तथा नियमित सञ्चालनमा ध्यान नदिँदा अहिले ती उपकरण प्रयोगविहीन अवस्थामा पुगेका छन् । 

स्थानीयवासीले सम्बन्धित निकायले आवश्यक चासो नदिँदा सुरक्षा व्यवस्थामा असर परेको बताएका छन् । उनीहरूले यथाशीघ्र क्यामेरा मर्मत गरी पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् ।

यस विषयमा सशस्त्र प्रहरी बलका एसपी सुमन जंग थापाले सम्बन्धित निकायलाई जानकारी गराइसकेको र छिट्टै आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् ।

यता स्थानीय दिलीप यादवले भने, ‘एसपी र डीआईजी फेरिन्छन्, तर सिसिटिभी भने बन्दकै अवस्थामा छ,’भन्दै सम्बन्धित निकायको बेवास्ताप्रति असन्तुष्टि व्यक्त गरे । सुरक्षा संवेदनशील सीमावर्ती क्षेत्रमा जडान गरिएका निगरानी प्रणाली लामो समयसम्म निष्क्रिय रहँदा राज्यको लगानी खेर जाने मात्र नभई नागरिकको सुरक्षामा समेत प्रत्यक्ष असर पर्ने भएकाले सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ ।

uae

सम्बन्धित खबर