२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’ सार्वजनिक

Nada
भरत प्रधान
२०८१ जेठ २६ गते २१:२७
Shares
पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’ सार्वजनिक

लिस्बन : बेल्जियम निवासी आख्यानकार पंचम अधिकारीको दोस्रो कृति ‘प्रवासीको देश हुन्न’ कथासंग्रह सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको अधिकारीको उक्त कृति हालै सार्वजनिक भएको हो ।

ncell

भर्खरै बजारमा आएको ‘प्रवासीको देश हुन्न’ कथासंग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाहरूको सँगालो रहेको छ । युरोपको सेरोफेरोमा रहेर लेखिएको यस संग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्त्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी समग्रताको निष्ठामा बाँच्नेहरूको कहानी छ । 

अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेक–अपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै ?’, राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म–खोज गर्दै ‘इपीसेन्टर पालुङटार’, तिमी संबोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस संग्रहमा समेटीएका छन् ।

पारम्परिक रूपमा लेखिँदै आएका नेपाली आख्यानको प्रवृत्ति विपरित अधिकारीका कथाहरू अतियथार्थवाद र यदाकदा जादुई यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग गर्दै बोधगम्य शैलीमा लेखिएको पाइन्छ । पप–संस्कृति र मिडियाको ब्यापक प्रभावले निथ्रुक्क भिजेको समाजमा मानवीय विडम्बना र संवेदनाहरूलाई केलाउँदै कथा लेखनको नयाँ आयाम देखाउने जमर्को यस कृतिले गरेको छ । पुस्तकको प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल अद्वैतमार्ग, काठमाडौं रहेको छ । पुस्तकको मूल्य नेपालमा ४२५ रुपैयाँ र विदेशमा सात युरो वा डलर राखिएको छ ।   आख्यानकार अधिकारीको यसअघि ‘पथिक प्रवासन’ उपन्यास प्रकाशित छ ।

ताजा खबर

सम्बन्धित खबर