सैनामैना : सैनामैना नगरपालिका वडा नं ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलमा शिक्षा साथै सुरक्षा कार्यक्रम प्रभावकारी बन्न थालेको छ ।
शैक्षिक सत्रको सुरुमै घोषित गरेअनुसार सिद्धार्थ प्रिमियम इन्स्योरेन्ससँगको सहकार्यमा विद्यालयमा भर्ना भएका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको बीमा लागू गरिएको थियो ।
सोही बीमा योजना अनुसार विद्यालयमा वा विद्यालयबाहिर जहाँसुकै चोटपटक वा बिरामी भइ उपचार गराउँदा लाग्ने खर्च बीमाबाट प्राप्त हुने व्यवस्था गरिएको छ । यसैअनुरूप हालै उपचार गराउनुपरेका दुई जना विद्यार्थीहरू कक्षा चारका रिदम बस्याल र कक्षा दशका जेनिश थापा बीमाबाट लाभान्वित भएका छन् ।
विद्यालय परिवार र सम्बन्धित बीमा कम्पनीले संयुक्त रूपमा ती विद्यार्थीहरूलाई बीमा बापतको रकम प्रदान गरेको जानकारी विद्यालयका प्रधानाध्यापक लेखनाथ गैरेले दिएका छन् ।
विद्यालयले आफ्ना सम्पूर्ण विद्यार्थीहरूको शिक्षा मात्र नभई स्वास्थ्य सुरक्षामा पनि विशेष ध्यान दिएको प्रमाण स्वरूप यो कदम महत्वपूर्ण रहेको प्रधानाध्यापक गैरेले बताए ।