२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

shivam cement
रासस
२०८२ असोज १० गते १२:२७
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैं खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्‍याउँदै आएकी छन् ।

पछिल्लो पाँच वर्षयता भने आयातित रङले घर पोत्ने चलन बढेपछि विकलाई दसैं खर्च जोहो गर्न समस्या भएको छ । दसैं आउनुभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै गएको हो । 

“एक दशकअघिसम्म दसैंका बेला करिब १०० घरमा माटो पुर्‍याउने गरेको थिएँ, हाल १५ घरमा पनि माटोको माग हुँदैन । हिजोआज घरमा सिमेन्ट लगाएपछि माटो र कमेरो प्रयोगमा आउन छोडेको छ”, विकले भनिन्,“जमाना फेरिए, गाउँका घरमा पनि धेरैले सिमेन्ट लगाउन थाले । पहिले कमेरो लगाउने भित्तामा हाल इनामेल र अरु रङ लगाउन थालिएको छ । पहिले एकैदिनमा रु सात सयसम्म पनि कमाई हुन्थ्यो, हाल पाँच दिनमा पनि सात सय हुँदैन ।”

स्थानीय कलीकुमारी सुनारले पहिले रातोमाटो र कमेरोमाटो निकाल्ने ठाउँ हाल झाडीले ढाकिएको सुनाइन् । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले माटोले पोत्न छोडेको उनको भनाइ छ । “माटो बेचेर दसैंका बेला रु १० देखि २० हजार कमाउने गरेकी थिएँ । पछिल्लो समय काम गर्न छोड्नुपर्ने अवस्था आयो । बसाइँसराइ बढ्यो । विकासको प्रभावले बजारका सामानले ठाउँ लिए”, सुनारले भनिन्,“पहिलेजस्तो बारीबाट रातोमाटो ल्याउने अवस्था रहेन । अहिले गाउँमा मोटर गाडी आए, धेरैले पक्की घर बनाउन थाले । गाउँमा परम्परागत पहिचान हरायो, हाम्रो आम्दानी गुम्यो ।”

विगतमा रातोमाटो र सेतो कमेरोमाटोले घर पोतिनु गाउँको मौलिकता नै थियो । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटोले घर पोत्न चलन हराउँदै गएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise