गुल्मी : गुल्मीको मदाने गाउँपालिकाको सुदूर बस्तीबाट आएका शिक्षकहरू असिनपसिन मुद्रामा तालिम हलमा प्रवेश गर्दा उनीहरूको अनुहारमा उत्सुकता झल्किन्थ्यो । “पहिलोपटक यस्तो खालको तालिममा सहभागी भएको छु, यो अनुभव निकै फरक लाग्यो,” सहभागी शिक्षक अर्जुन अर्यालले भने ।
मदाने गाउँपालिकाले पहिलो पटक आफ्ना सम्पूर्ण विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई समेटेर विशेष तालिम आयोजना गरेको छ । शैक्षिक गुणस्तर प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाइएको यो कार्यक्रममा गाउँपालिकाभरिका ४५ जना प्रधानाध्यापक र ३०६ जना शिक्षक सहभागी भएका थिए । वरिष्ठ संकाय सदस्य खिम बहादुर कुँवरका अनुसार, पहिलो चरणमा प्रधानाध्यापकहरूलाई र दोस्रो चरणमा शिक्षकहरूलाई तालिम प्रदान गरिएको थियो ।
तालिममा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. विष्णु प्रसाद पोखरेलले प्रशिक्षकको भूमिका निर्वाह गरे । उनले अनुसन्धानका तथ्यांक र प्रमाणका आधारमा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका प्रष्ट्याए । “शैक्षिक पलायन अहिलेको प्रमुख चुनौती हो । यसलाई रोक्न अनुसन्धानमा आधारित रणनीति अपनाउनुपर्छ,” पोखरेलले भने । उनका अनुसार, विद्यार्थीलाई विद्यालयमै आकर्षित गर्ने कार्यक्रम नभएसम्म गुणस्तरको खोजी अधुरो रहन्छ ।
सहभागी शिक्षकहरूले तालिमले नयाँ दृष्टिकोण प्रदान गरेको अनुभव गरेका छन् । शिक्षक भीमकुमारी थापाले भनिन्, “हामीले दैनिक अभ्यासमा गर्ने पढाइ पद्धति र तालिममा सिकाइएको व्यावहारिक दृष्टिकोणमा धेरै भिन्नता पाएँ । यसलाई कक्षाकोठामा प्रयोग गर्ने प्रयास गर्नेछु ।”
अर्का शिक्षक तारा पन्थीले तालिमको निरन्तरतामा जोड दिँदै भने, “एकपटकको तालिमले मात्र पुग्दैन । यसलाई हरेक वर्ष दोहोर्याउनुपर्छ । निरन्तरताले मात्र परिणाम दिन्छ ।”
गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा क्षेत्रमा आवश्यक लगानी गर्न गाउँपालिका सधैं तत्पर रहने प्रतिबद्धता जनाए । “हामीले गाउँपालिकालाई शैक्षिक उत्कृष्टताको मोडल बनाउन चाहन्छौं । यसका लागि गुणस्तर सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिनेछौं,” उनले भने ।
गाउँपालिकाका शिक्षा शाखा अधिकृत नारायण पन्थीले तालिमले भविष्यमा नीति निर्माणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे । “गाउँपालिकाले अब अनुसन्धान–आधारित विकास र तालिमलाई वार्षिक नीतिगत प्राथमिकतामा राख्नेछ,” उनले भने ।
सहभागीहरूको अनुभवमा, यो तालिमले शिक्षकहरूलाई मात्र नभई सम्पूर्ण शैक्षिक प्रणालीलाई नयाँ दृष्टिकोण दिएको छ । विद्यालय शिक्षा गुणस्तर सुधारको यात्रामा यो तालिम पहिलो आधारशिला बन्ने उनीहरूको ठहर छ ।