रौतहट : रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम प्रदान गरिएको छ । हालैको जेन जी आन्दोलनले युवायुवतीमा पारेको सामाजिक, राजनीतिक र मनोवैज्ञानिक प्रभावलाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको हो ।
नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजना, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य र कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा तालिम सम्पन्न भएको हो । तालिममा विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन, सामाजिक जिम्मेवारी र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको आयोजकले बताएको छ ।
जेनजी आन्दोलनका क्रममा हिंसा, तोडफोड र सरकारी सम्पत्तिमा भएको क्षतिले युवा समुदायमा असुरक्षा, निराशा र मानसिक दबाब बढाएको छ । यस्तो अवस्थामा स्थानीय तहबाट मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउने यो प्रयासलाई सहभागी विद्यार्थीले सकारात्मक रूपमा लिएका छन् ।
विशेषज्ञहरूका अनुसार, युवावस्थामा मानसिक स्वास्थ्यको महत्व नबुझाए दीर्घकालीन नकारात्मक असर देखिन सक्छ । तालिमले विद्यार्थीहरूलाई आत्मविश्वास, सहकार्य र संकट व्यवस्थापनको सीप प्रदान गरेको आयोजकको दाबी छ ।
यो एकदिने तालिम केवल प्रशिक्षणमा सीमित नभई आन्दोलनपछिको सामाजिक उपचारको पहलका रूपमा समेत हेरिएको छ । यसले युवाहरूमा मानसिक स्वास्थ्यप्रति जागरूकता ल्याउनुका साथै भविष्यमा जिम्मेवार नेतृत्व विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।