२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

युक्रेनमाथि रुसको ठूलो हवाई आक्रमण, प्रधानमन्त्री कार्यालयमै मिसाइल प्रहार

Nada
२०८२ भदौ २२ गते १७:४४
Shares
युक्रेनमाथि रुसको ठूलो हवाई आक्रमण, प्रधानमन्त्री कार्यालयमै मिसाइल प्रहार

काठमाडौँ– रुसले युक्रेनमाथि एकै पटकमा ८०० भन्दा बढी ड्रोन र दर्जनौँ मिसाइल प्रहार गर्दै युद्धलाई नयाँ चरणमा धकेलेको छ । युक्रेनी अधिकारीहरूले यसलाई अहिलेसम्मकै ठूलो हवाई आक्रमण भनेका छन्।

ncell

हमलामा राजधानी किभस्थित प्रधानमन्त्री कार्यालयको भवनसमेत क्षतिग्रस्त बनेको छ। युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार, किभमा भएको आक्रमणमा एक आमा र तीन महिनाका शिशुको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएको विभिन्न अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

रातभर गरिएको हमलामा रुसले ड्रोन, क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइल प्रयोग गरेको युक्रेनी सेनाले जनाएको छ। त्यसक्रममा ७४७ ड्रोन र केही मिसाइलहरू खसालिएको दाबी  युक्रेनको छ । 

आक्रमणका क्रममा क्रिभी रिह, निप्रो, क्रेमेन्चुक र ओडेसा लगायतका शहरहरूमा समेत विस्फोट र क्षति भएको खबर छ। प्रधानमन्त्री कार्यालयमा आक्रमण पहिलो पटक भएको हो, जसले युद्धमा नयाँ मोड ल्याएको विश्लेषकहरूले जनाएका छन्।

रुसले भने युक्रेनका सैन्य र औद्योगिक संरचना, हतियार कारखाना, ड्रोन उत्पादन केन्द्र, र ट्रान्सपोर्ट नेटवर्कहरू मात्र लक्षित गरेको दाबी गरेको छ। साथै, ड्निप्रोपेत्रोभ्स्क क्षेत्रको ‘खोरोशे’ गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी पनि गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमी मुलुकहरूलाई अधिक हवाई सुरक्षा प्रणाली प्रदान गर्न र रुसी तेल तथा ग्यासमाथि प्रतिबन्ध कडा गर्न आग्रह गरेका छन्। उनले भने, ‘रुसलाई रोक्न अझै बलियो सहयोग आवश्यक छ, किनभने अहिलेको हवाई हमला केवल सुरुआत हुन सक्छ।’

युरोपेली परिषद् प्रमुख एन्टोनियो कोस्टाले हमलाको कडा निन्दा गर्दै युक्रेनप्रति एकीकृत सहयोग र कुटनीतिक समर्थन जारी रहने बताएका छन्।

यस हमलालाई युक्रेन युद्धको अहिलेसम्मकै गम्भीर र रणनीतिक मोडको रूपमा हेरिएको छ। रुसले युक्रेनको सरकारी संरचना नै निशाना बनाउन थालेपछि अब युद्धले राजनीतिक संरचनाहरूलाई सिधै प्रभाव पार्न सक्ने खतराको संकेत दिएको विश्लेषकहरू बताउँछन्।

सम्बन्धित खबर