काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले वैदेशिक रोजगारीले मुलुकमा आर्थिक विकासको साथमा सांस्कृतिक विचलन पनि बढाएको निष्कर्ष निकालेको छ । ललितपुरको गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वैदेशिक रोजगारीले रेमिट्यान्ससँगै सांस्कृतिक विचलन पनि ल्याएको उल्लेख गरिएको छ ।
दस्तावेजमा भनिएको छ, ‘वैदेशिक रोजगारीले आर्थिक उत्थानसँगै सांस्कृतिक विचलन पनि ल्याएको छ । आन्तरिक–बाह्य आप्रवासन, बजार अर्थतन्त्रको विस्तार, प्रविधिको सहज पहुँच र बढ्दो चेतनाले समाजलाई गतिशील बनाएको छ ।’ यसले वर्गीय सम्बन्धमा नयाँ आयाम थपेको भए पनि उत्पादन, स्वामित्व र आय विवरणसम्बन्धी आधारभूत प्रश्नहरू अझै खुला छन् ।
अध्यक्ष ओेलीले समाजकोे कुन–कुन क्षेत्रमा विचलन पैदा भएको हो विस्तृतमा भने प्रतिवेदनमा उल्लेख गरेका छैनन् । विज्ञहरूले वैदेशिक रोेजगारले समाजमा परिश्रम गर्ने संस्कार हराएको, देखासिकीमा अनुत्पादक खर्च बढेको, बसाइँसराइ र पारिवारिक विखण्डन भएको बताउने गरेका छन् । अध्यक्ष ओलीको प्रतिवेदनमा त्यस्तो कुनै व्याख्या छैन ।
वैदेशिक रोजगारमा रहेका नेपाली र गैरआवासीय नेपालीले निरन्तर मतदानको माग गरेकोे भएपनि प्रतिवेदन त्यसमा मौन छ । प्रतिवेदनमा ७६ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको विप्रेषण आय गरेकोे भन्दै विप्रेषणले निरपेक्ष गरिबी २६ वर्षको अवधिमा ४२ प्रतिशबाट २० दशमलव ३ प्रतिशतमा झार्न सघाएको उल्लेख छ ।
वैदेशिक रोेजगारबाट प्राप्त विप्रेषण पनि गरिबको तुलनामा धनी परिवारले ३ दशमलव ३ गुणा बढी पाउने गरेका कारण वर्गीय भिन्नता कायम राखेको अध्यक्ष ओलीकोे निष्कर्ष छ । प्रतिवेदनमा भनिएको छ, ‘सही सूचनाको अभाव, खर्च व्यवस्थापनमा कठिनाइ र सीपको अभावमा बाह्य रोजगारीमा जान नसक्ने या गए पनि जोखिमपूर्ण काम गर्न बाध्य हुने अवस्था देखिएको छ ।’