काठमाडौंः जापानमा जुलाई महिनामा दुई वा सोभन्दा बढी सदस्य रहेको घरपरिवारको घरेलु खर्चमा १.४ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धि पछिल्ला तीन महिनायता लगातार भएको वृद्धि हो, जुन उपभोग सुधारको सङ्केत मानिएको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, उक्त महिनामा यस्ता घरपरिवारहरूले औसत रूपमा तीन लाख ५ हजार ६ सय ९४ येन (करिब २ हजार ६३ अमेरिकी डलर) खर्च गरेका थिए ।
सिजनअनुकूल समायोजनसहितको मासिक आधारमा हेर्दा, जुलाईमा घरेलु खर्च १.७ प्रतिशतले बढेको देखिएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार, यो वृद्धि मुख्यतः बढ्दो विद्युत् महसुल र सवारी साधनसम्बन्धी खर्चका कारण भएको हो । तर, मूल्यवृद्धिका कारण खाद्य वस्तुहरूमा खर्च घटेको उल्लेख गरिएको छ । उनका अनुसार, उपभोग सुधार देखिए पनि यो अझै सशक्त रुपमा देखिएको छैन ।
जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५० प्रतिशतभन्दा बढी हिस्सा घरेलु खर्चबाट आउने भएकाले, घरेलु उपभोग आर्थिक सूचकको रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । एजेन्सी